खेल क्षेत्र बुझेको व्यक्तिलाई मन्त्री बनाउन प्रतिवद्ध छु : सभापति बानियाँ

काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति ईन्द्रबहादुर बानियाँले खेलकुदलाई राजनीतिबाट टाढा राख्नुपर्ने बताएका छन् ।

बुधबार काठमाडौंको बालुवाटारमा नेपाल तेक्वान्दो संघ बागमती प्रदेशको प्रथम साधारण सभा कार्यक्रमलाई सम्बोधन गर्दै सभापति बानियाँले जुन सुकै दलहरूले पनि खेलकुदलाई राजनीति मुक्त बनाउनुपर्ने बताए । उनले खेलकुदको क्षेत्रमा राष्ट्रिय, अन्तर्राष्ट्रिय मेडल जितेर देशको नाम चम्काउने खेलाडीहरूलाई खेलकुदबाट पलायनबाट रोक्न राजनीतिक नेतृत्वले विशेष पहल गर्नुपर्ने बताएका छन् ।

उनले खेलकुदमा पराजय हुनेवित्तिकै आत्तिन नहुने बताएका छन् । प्रदेश सांसद समेत रहेका सभापति बानियाँले बिगतमा आफ्नो नाम मुख्यमन्त्रीमा चर्चामा रहेको बताउँदै पछि मुख्यमन्त्री बन्न नसकेको बताए । तैपनि आफूले निरन्तर राजनीति गर्दै आएको उनले बताएका छन् ।

उनले भने, ‘राजनीति भनेको अनन्तको खेल हो । बहुमतको खेल हो । राजनीतिमा हतार गर्नु हुँदैन । जहिले पनि खेल परिवर्तन हुन सक्छ ।’

‘आज पहिलो हुन पाइन भनेर हतास हुनुहुँदैन । दोस्रो हुँदा पनि जितेको ठान्नुपर्छ’, सभापति बानियाँले भनेका छन् । उनले खेलकुदलाई राजनीतिको जालझेलबाट टाढा राख्नुपर्ने बताएका छन् ।

उनले मेडल जितेका खेलाडीहरूको गतिलो व्यवस्थापन हुन नसक्दा खेल क्षेत्रबाट पलायन हुने अवस्था भएको भन्दै चिन्ता जनाएका छन् ।

बानियाँले भने, ‘उनीहरूको पलायनलाई सरकारले रोक्ने कार्यक्रम ल्याउनुपर्छ । स्थानीय सरकार र प्रदेश सरकारले पनि खेलाडीको पलायन रोक्ने गरेर कार्यक्रम र योजना ल्याउनुपर्छ ।’

उनले राजनीतिले खेलको नीति बनाएर खेलाको संरक्षण गर्नुपर्ने बताएका छन् । उनले भने, ‘राजनीतिक नेतृत्वमा जो आए पनि खेलकुदको विकास गर्नुपर्छ । व्यक्तिगत केन्द्रित हुनु हुँदैन ।’

सभापति बानियाँले बागमती प्रदेश सरकारमा खेल क्षेत्रको विकासका लागि अलग रुपमा खेलकुद मन्त्रालय बनाउनुपर्ने बताएका छन् । उनले खेलकुद जानेको र बुझेको व्यक्तिलाई खेलकुद मन्त्रालयको मन्त्री बनाउने विषयमा आफू प्रतिवद्धता रहेको बताएका छन् ।

बागमती प्रदेश सभाका नेपाली कांग्रेसका सांसद मीनकृष्ण महर्जनले खेलाडीहरूको भविष्य अन्धकार भएको बताए । उनले खेलकुद बुझेको व्यक्ति खेलकुद मन्त्रालयमा जान नसक्दा खेलाडीहरू पलायन भइरहेको बताएका छन् । उनले कांग्रेसले खेलकुदलाई विशेष महत्व दिनुपर्ने माग गरेका छन् ।

कार्यक्रममा नेपाली कांग्रेस बागमती प्रदेश सभाका सांसद मीनकृष्ण महर्जन, ललितपुर कांग्रेसका सभापति जितेन्द्र श्रेष्ठ, ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनलगायतको उपस्थिति रहेको थियो ।

Published : Wednesday, 2023 March 29, 11:30 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया