महिनामा १८० जनासँग शारीरिक सम्पर्क, काठमाडौंदेखि दिल्लीसम्म कनेक्सन, व्यूरोद्वारा ३ जना पक्राउ

काठमाडौं । नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान व्यूरो, बबरमहलले दुई महिला र एक पुरुषलाई मानव बेचबिखनको अभियोगमा पक्राउ गरेको छ ।

व्यूरोका प्रवक्ता तथा प्रहरी उपरीक्षक कृष्णप्रसाद पंगेनीद्वारा सोमबार जारी विज्ञप्तिअनुसार काठमाडौंबाट भारत पुर्‍याएर युवतीहरूलाई बेश्याबृत्तिमा लगाउने गरेको अनुसन्धानका क्रममा खुलेको छ ।

व्यूरोले मकवानपुरको भस्मफेदी गाउँपालिका ९ स्थायी घर भएकी २० वर्षीया सम्झना तामाङ उर्फ सेन्जी तामाङ, धादिङको धुनबेशी नगरपालिका २ स्थायी घर भएका २५ वर्षीय भुवन तामाङ र उनकी पत्नी २० वर्षीया शुष्मा मग्रातीलाई पक्राउ गरिएको प्रवक्ता पंगेनीले बताएका छन् ।

पक्राउ परेका ३ जनालाई अदालतमा पेश गरेर अनुसन्धानका लागि सात दिनको म्याद थप भएको छ ।

काठमाडौंका विभिन्न बार, क्लव, क्याफे, दोहोरी साँझमा काम गर्ने युवतीहरूलाई भारतको दिल्लीस्थित होटेल, रेष्टुरेन्ट, फेन्सी पसलमा आकर्षक काम पाइने र कमाइ समेत राम्रो हुने भनि प्रलोभनमा परोर तीन जनाको समूहले नेपाली युवतीहरूलाई दिल्लीमा बेश्याबृत्तिमा लगाउने गरेको प्रवक्ता पंगेनीले बताएका छन् ।

भारतका लागि नेपाली राजदूतावास र विभिन्न संघ संस्थाको सहयोगमा चैत ७ गते युवतीहरूको उद्धार गरेर काठमाडौं ल्याइएको छ ।

प्रवक्ता पंगेनीले भने, ‘प्रत्येक महिनामा एक जना युवतीले कम्तीमा १८० जनासँग शारीरिक सम्पर्क गर्नुपर्ने दवाव दिने गरेको पीडितबाट बुझिन आएको छ ।’

तीन जनाको गिरोहले विशेष गरेर माछापोखरी, बसपार्क लगायतका ठाउँहरूमा मनोरञ्जनको क्षेत्रमा काम गर्ने युवतीहरूलाई विभिन्न माध्यबाट सम्पर्क गरि प्रलोभनमा पार्ने गरेका थिए ।

काठमाडौंबाट जमुनाहा नाका हुँदै दिल्लीको बसमार्फत युवतीको उनीहरूले सपलाइ गर्दै आएका थिए । २०७९ सालको असोज महिनादेखि फागुनसम्म ९ जना युवतीहरूलाई उनीहरूले काठमाडौंबाट दिल्ली पुर्‍याएको अनुसन्धानका क्रममा खुलेको छ ।

युवतीहरूलाई शारीरिक सम्पर्कमा लगाउन सामाजिक सञ्जालमा तस्वीर पठाउने तथा अनलाइनबाट लेनदेन हुने गरेको प्रवक्ता पंगेनीले बताएका छन् ।

Published : Monday, 2023 March 27, 9:08 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया