‘फेसबुके दलाल र भाइ’हरूद्वारा आइजीपी कुँवरलाई घेराबन्दी

काठमाडौं । नेपाल प्रहरीका प्रहरी नवनियुक्त प्रहरी महानिरीक्षक (आइजीपी) बसन्तबहादुर कुँवरलाई दर्ज्यानी चिन्हबाट प्रदान गरिएको छ ।

आइतबार गृह मन्त्रालयमा आयोजित विशेष समारोहबीच गृहसचिव विनोदप्रकाश सिंहले आइजीपी कुँवरलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।

गृहसचिव सिंहले नेपाल सरकार गृह मन्त्रालयको तफ बाट प्रहरी महानिरीक्षक कुँवरलाई बधाई तथा कार्यकाल सफलताको कामना प्रदान गरेका छन् । उनले कुँवरको कार्यकालमा नेपाल प्रहरीमा गुणात्मक सुधार हुने, प्रहरी संगठन उच्च मनोबलका साथ काम गर्नसक्ने र नेपाल सरकारले प्रहरी संगठनमाथि थप गर्व गर्नसक्ने अवसर प्राप्त हुने बताएका छन् ।

सिंहले प्रहरी महानिरीक्षक कुँवरले सकारात्मक रूपमा नेतृत्व प्रदान गर्नसक्नुपर्ने बताएका छन् ।

आइजीपी कुँवरले व्यावसायिक निष्ठाका साथ राष्ट्र सेवामा पु¥याएको योगदानको उच्च मूल्याङ्कन गर्दै नेपाल सरकारले आफूलाई प्रहरी महानिरीक्षकमा पदोन्नति गरेकोमा नेपाल सरकार तथा गृह मन्त्रालयप्रति आभार व्यक्त गरेका छन् ।

सरकारले सुम्पेको जिम्मेवारी आफ्ना सहकर्मी एवम् मातहतका प्रहरी कर्मचारीहरू प्रति कुनै पनि पूर्वाग्रहको भावनाबाट मुक्त रही निष्पक्षतका साथ निर्वाह गर्ने प्रतिवद्धता कुँवरले व्यक्त गरेका छन् ।

नवनियुक्त प्रहरी महानिरीक्षक कुँवरले आइतबार नै आफ्नो कार्यकक्षमा पदबहाली गरेका छन् ।

आईजीपी कुँवरले प्रहरी संगठनभित्र राम्रो काम गर्ने प्रतिवद्धता जनाए पनि सामाजिक सञ्जालमा बधाइ दिने, तस्वीर हालेर प्रभाव देखाउने ‘दलाल’ र ‘चाकडी’ गर्ने समूहसँग आफूलाई कति टाढा राख्न सक्छन् भन्ने ठूलो चुनौति छ । अवसरवादी दललाहरूले आइजीपी कुँवरलाई आफ्नो प्रभावमा पार्न विभिन्न खालका फण्डा शुरु गरिसकेका छन् । आइजीपी कुँवरले त्यो कुरा बुझ्न सक्छन् वा सक्दैनन् हेर्न बाँकी छ ।

सामाजिक सञ्जालमा आइजीपी कुँवरलाई दाइ भनेर बधाइ दिनेको समूह पनि सानो छैन । जो आइजीपी भए पनि वा प्रहरीको अलिक ठूलो पदमा पुग्ने जो सुकैलाई फेसबुकमा ट्याग गरेर दाइलाइ बधाइ र शुभकामना छ भन्ने समूहले नै हैरान बनाएको चर्चा छ ।

धिरजप्रताप सिंहसहितका विगतका आइजीपीहरू यस्तै फेसबुके गिरोहको घेराबन्दीमा पर्दा विवादमा आइरहेका थिए । त्यही गिरोहको कुरा विश्वास गर्दा आइजीपीको अन्त्यतिर धोका पनि भएका थिए ।

को हुन् कुँवर ?

प्रहरी महानिरीक्षक कुँवर नेपाल प्रहरीको ३०औं प्रहरी महानिरीक्षक पदमा पदोन्नति भएका छन् । नेपाल सरकार मन्त्रिपरिषदको २०७९ चैत १० गतेको निर्णयानुसार उनी नेपाल प्रहरीको सर्वोच्च पद प्रहरी महानिरीक्षकमा पदोन्नति भएका हुन् ।

अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वडा नम्बर ९ तुम्कोटमा पिता भीमबहादुर कुँवर र माता नमकुमारी कुँवरको कोखबाट वि.सं. २०२६ चैत १५ गते जन्मिएका कुँवरका श्रीमती लक्ष्मी पाराजुली कुँवर र २ छोरा छन् । कुँवरले वि.सं. २०५१ चैत ५ गते प्रहरी निरीक्षक पदबाट नेपाल प्रहरी सेवा प्रारम्भ गरेका हुन् ।

प्रहरी सेवामा साहसी प्रहरी अधिकृतको रूपमा पहिचान बनाएका प्रहरी महानिरीक्षक कुँवर २०६३ भदौ ८ गते प्रहरी नायव उपरीक्षक, २०७१ फागुन १० गते प्रहरी उपरीक्षक, २०७५ फागुन ६ गते प्रहरी वरिष्ठ उपरीक्षक, २०७९ असार १७ गते प्रहरी नायब महानिरीक्षक र २०७९ चैत ६ गते प्रहरी अतिरिक्त महानिरीक्षक पदमा पदोन्नति भएका थिए ।

त्रिभुवन विश्वविद्यालयबाट व्यापार प्रशासनमा स्नातकोत्तर शैक्षिक योग्यता हासिल गरेका प्रहरी महानिरीक्षक कुँवरले अन्तर प्रदेश प्रहरी कार्यदक्षता मूल्याङ्कन २०७३ तर्फ सर्वोत्कृष्ट हुन सफल भई पुलिस व्याटन प्राप्त गरेका छन् ।

Published : Sunday, 2023 March 26, 9:59 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया