प्रमुख प्रशासकीय अधिकृतहरूलाई ७ दिनभित्र हाजिर हुन निर्देशन

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृतहरूलाई ७ दिनभित्र खटाइएको स्थानमा हाजिर हुन निर्देशन दिएको छ ।

मन्त्रालयले खटाइएका प्रमुख प्रशासकीय अधिकृतहरूलाई हाजिर नगराई फर्काउन थालेपछि ७ दिनभित्र हाजिर गराउन मन्त्री अमनलाल मोदीले शुक्रबार मन्त्रिस्तरीय निर्णय गरेका छन् ।

मन्त्री मोदीको निर्णयानुसार हाजिर नगराएका स्थानीय तहलाई मन्त्रालयले शुक्रबार नै परिपत्र गरिसकेको छ ।

मन्त्रालयले सम्बन्धित स्थानीयतहहरूलाई गरिएको परिपत्रमा भनिएको छ, ‘स्थानीय सरकार ऐन, २०७४ को ८४(४) बमोजिम यस मन्त्रालयबाट कामकाजमा खटाइएका प्रमुख प्रशासकीय अधिकृतलाई सम्बन्धित नगरपालिका, गाउँपालिकाले प्रचलित कानून हाजिर गराई कामकाजमा लगाउनुपर्ने देखिएको हुँदा खटाइएका प्रमुख प्रशासकीय अधिकृतहरूलाई पत्रको मितिले ७ (सात) दिनभित्र हाजिर गराई सोको जानकारी यस मन्त्रालयमा दिनु हुनका साथै तहाँ कार्यालयबाट अन्यत्र खटाइएका कर्मचारीहरूलाई समेत सोही अवधिभित्र खटाइएको निकायमा रमाना दिई पठाउनु हुन नेपाल सरकार मन्त्रिस्तरको मिति चैत ९ गतेको निर्णयानुसार अनुरोध छ ।’

मन्त्रालयबाट खटाइएका नयाँ प्रमुख प्रशासकीय अधिकृतबाट मात्र सम्बन्धित नगरपालिका, गाउँपालिकाको खाता सञ्चालनको व्यवस्था मिलाउनका लागि कोष तथा लेखा नियन्त्रण कार्यालयलाई समेत परिपत्र गरेको मन्त्रालयले जनाएको छ ।

Published : Sunday, 2023 March 26, 8:14 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया