बस दुर्घटनाका घाइतेको उपचारमा लापरबाही भएपछि कांग्रेसका खतिवडाले संसदमा सरकारको कान समाते

काठमाडौं । नेपाली कांग्रेसका सांसद तथा केन्द्रीय सदस्य रामहरि खतिवडाले सडक दुर्घटनाका घाइतेहरूको उपचारमा निकै लापरबाही भएको भन्दै चिन्ता जनाएका छन् ।

प्रतिनिधि सभाको आइतबार बसेको बैठकमा बोल्दै खतिवडाले दुर्घटनामा घाइते भएकाहरूको उपचारमा गम्भीर भएर गरिनुपर्ने माग गरे । उनले पहुँचवालालाई सरकारले करोडौं, अर्बौं रकम दिने गरेको भन्दै गाउँका गरिव जनताको उपचारमा पनि विशेष ध्यान दिनुपर्ने माग गरे ।

कांग्रेसका सांसद खतिवडाले पुराना बसहरू दुर्घटना हुने, ती बसको बीमा र सवारी धनी फेला नपर्ने अवस्थाले गर्दा यात्रुले धेरै दुःख पाएको बताए । उनले बसमा यात्रा गर्ने सबै यात्रुको दुर्घटना बीमा अनिवार्य रुपमा गरेर कार्यान्वयनमा ल्याउन माग गरेका छन् ।

उनले भने, ‘फागुन २९ गते ओखलढुंगाको रुम्जाटारबाट छुटेको एउटा बस सिन्धुलीको खाङसाङ नजिकैको भिरमा दुर्घटना हुँदा त्यहाँ ६ जना मृत्यु हुने अवस्थामा पुगे । तत्कालै नेपाली सेनाको हेलिकप्टरले अन्य ३० जना यात्रुलाई काठमाडौं ल्याउन सम्भव भयो ।’

‘बसहरू पुराना छन् । ती बसेको न बीमको व्यवस्था छ, न बस धनीहरू फेला पर्छन्’, खतिवडाले भने, ‘घाइते बिरामीहरू काठमाडौं ल्याइसकेपछि उहाँहरूको अवस्था पनि त्यस्तै सिर्जना भयो ।’

उनले भने, ‘कतिपयको अवस्था बीर अस्पतालमा, टिचिङ अस्पतालमा र अन्य अस्पतालमा उपचार गर्नुपर्ने, पैसाको अभावमा बिरामीहरू अप्रेशन गर्न नसक्ने अवस्थामा पुगेको थियो । त्यसमा पनि कसैको ध्यान गएको छैन । त्यसैले बसमा जाने सम्पूर्ण यात्रुहरूलाई बीमाको व्यवस्था गरेर सम्पूर्ण उपचार जति पनि दुर्घटना भएका छन् तिनीहरूको उपचारको व्यवस्था सरकारले गरोस् भनेर आग्रह गर्न चाहन्छु ।’

‘मैले अगाडि भने जस्तै गरि जसरी बिरामीहरू ल्याइन्छ तिनीहरूसँग आफ्नो लगाउने लुगा बाहेक केही हुँदैन’, खतिवडाले भने, ‘त्यो अवस्थामा हस्पिटलमा जाने बेलामा जुनसुकै हस्पिटलले पनि महँगो उपचारको व्यवस्थाले उपचार गर्न नसक्ने, निजी हस्पिटलमा उपचार गर्न नसक्ने १०/१२ लाख लाग्ने गाउँलेहरूले जग्गा बिक्री गर्दा पनि उपलब्ध हुने अवस्था कहिले अन्त्य गर्ने सरकारले ध्यन दिनुपर्छ भनेर त्यस विषयमा ध्यान दिन माग गर्न चाहन्छु ।’

उनले भने, ‘नेपालमा शिक्षा र स्वास्थ्यको उपचार र अध्ययनको व्यवस्था सरकारले एकदम शुलभताका साथ सबै नागरिकलाई उपलब्ध गराउनको लागि पहल गर्न पनि अनुरोध गर्न चाहन्छु ।’

कांग्रेसका सांसद खतिवडाले भने, ‘फागुन २१ गते ओखलढुंगाको चिसंखुगढीमा बलेरो जीप दुर्घटना हुँदा मीनबहादुर श्रेष्ठ, भक्तबहादुर थापाको घटनास्थलमै ज्यान जाने अवस्था सिर्जना भयो । जीपमा यात्रा गर्ने १३ जनामध्ये अरु यात्रुलाई काठमाडौंमा ल्याएर उपचार गर्ने व्यवस्था भयो ।’

‘बिरामीहरू काठमाडौं आइसकेपछि भित्री बस्त्रबाहेक केही बिरामीसँग साधन स्रोत केही थिएन’, उनले भने, ‘हस्पिटलमा पुर्‍याउँदै गर्दा हस्पिटलमा पहिला डिपोजिट राख्ने परम्पराले गर्दा दुरदराजबाट आएका बिरामीहरूले उपचार गराउने अवस्था सिर्जना हुन सकेन ।’

‘मान्छेहरू सिटामोल नपाएर मर्ने अवस्था सिर्जना भएको छ । राज्यले करोडौं, अर्बौ पैसा पहुँचवालाका नाममा उपचार खर्च दिने पद्धतिको विकास गरेको छ’, उनले भनेका छन् ।

खतिवडाले भने, ‘दुरदराजमा यसरी दुर्घटना परेर आएका बिरामी समेत उपचार गर्न नसकेर घर, जग्गा बेच्नुपर्ने र त्यसले पनि नपुग्ने अवस्था सिर्जना हुँदै गर्दा यस्ता खालका घटना र दुर्घटनाका बिरामीलाई राज्यले निःशुल्क उपचार गर्ने व्यवस्था गरोस् भनेर सरकारसँग अनुरोध गर्न चाहन्छु ।’

Published : Sunday, 2023 March 26, 2:10 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया