सिंहसहितका उच्च प्रहरी अधिकारीहरूलाई बिदाइ

काठमाडौं । तीस वर्ष सेवा अवधि पूरा गरी सेवा निवृत्त भएका प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहसहितका उच्च अधिकृतहरूलाई बिदाइ गरिएको छ ।

शुक्रबार नेपाल प्रहरीको मुख्यालय नक्सालमा आयोजित विशेष कार्यक्रममा सिंहसहित प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू तथा प्रहरी वरिष्ठ उपरीक्षकहरूलाई बिदाइ गरिएको छ ।

उनीहरूलाई नवनियुक्त प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले शुभकामनासहित बिदाइ गरेका छन् ।

सिंहले तीन दशक लामो प्रहरी सेवाको व्यावसायिक यात्राबाट औपचारिक बिश्राम लिई निवृत्त हुन लाग्दा भव्य बिदाइ कार्यक्रमको आयोजना गरी आफूलाई हार्दिकतापूर्वक सम्मान दिएकोमा नेपाल प्रहरी संगठन परिवारलाई धन्यावाद दिएका छन् ।

संगठनमा देखिएका यावत् बाह्य तथा आन्तरिक चुनौतीहरूलाई चिरेर जानुपर्ने सुझाव दिँदै सिंहले संगठनको यश वृद्धिका लागि नवनियुक्त प्रहरी महानिरीक्षकलाई रचनात्मक सहयोग गर्न सबै प्रहरी कर्मचारीलाई निर्देशन समेत दिएका छन् ।

प्रहरी महानिरीक्षक सिंहले आफ्नो नेतृत्व कार्यकालमा सहयोग पु¥याउने सबै सकल दर्जाका प्रहरी अधिकृत तथा जवानहरूप्रति आभार समेत प्रकट गरेका छन् ।

सिंहले आफ्नो कार्यकालमा सम्पादन भएका उल्लेखनीय कार्यहरू एवम् प्रहरी संगठनमा हाल सञ्चालनमा रहेका महत्वपूर्ण कार्यहरू समेटिएर तयार गरिएको कार्य सम्पादन प्रतिवेदन नवनियुक्त प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरलाई हस्तान्तरण गरेका छन् ।

नवनियुक्त प्रहरी महानिरीक्षक कुँवरले सेवा निवृत्त भएका प्रहरी महानिरीक्षक सिंहलगायत वरिष्ठ प्रहरी अधिकृतहरूलाई कृतज्ञताको चिनो प्रदान गरेका छन् ।

नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष कुसुमलता सिंहलाई समेत बिदाइ गरिएको छ । सिंहलाई श्रीमती लक्ष्मी कुँवर पराजुलीले सम्मान गरेकी छिन् ।

सिंहसँगै प्रहरी वरिष्ठ अधिकृतहरूमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू सहकुलबहादुर थापा, उत्तमराज सुवेदी र दिवेश लोहनी, प्रहरी नायब महानिरीक्षकहरू नलप्रसाद उपाध्याय, मोहनकुमार आचार्य र मसाउद आलम खाँ तथा प्रहरी वरिष्ठ उपरीक्षकद्वय उमाशंकर पन्जियार र जनकराज पाण्डे सेवानिवृत्त भएका छन् ।

Published : Saturday, 2023 March 25, 12:49 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया