दाङको सबैभन्दा ठूलो क्याम्पसमा नेविसंघ विजयी, कम्युनिष्टहरू हेरेको हेरै

घोराही । नेपाली कांग्रेस निकटको नेपाल विद्यार्थी संघ (नेविसंघ)ले दाङको महेन्द्र बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन जितेको छ ।

घोराही उप–महानगरपालिका– १५ भरतपुरमा रहेको महेन्द्र बहुमुखी क्याम्पस दाङको सबैभन्दा धेरै विद्यार्थी रहेको ठूलो सरकारी क्याम्पस हो ।

स्ववियुको सभापतिमा नेविसंघका मनोज डिसीले जित हातपारेका छन् । डिसीसँग कम्युनिस्टको संयुक्तका उम्मेदवार हिमाल महरा पराजित भएका छन् ।

स्ववियुमा नयाँ नेतृत्व चयनका लागि बुधबार भएको मतदानको मतपरिणामअनुसार विजयी डिसीले १ हजार ९६ मत प्राप्त गरेका छन् ।

पराजित भएका अखिलका सभापतिका उम्मेदवार महराले ६२० मत मात्रै प्राप्त गरेका छन् ।

क्याम्पसमा एमालेनिकट अनेरास्ववियु, माओवादीनिकट अखिल क्रान्तिकारी र राष्ट्रिय जनमोर्चा निकट अखिल छैटौँले चुनावी तालमेल गरेका थिए । तालमेल गर्दा पनि कम्युनिस्टहरूको पत्तासाफ भएको छ ।

सचिवमा ९५५ मत प्राप्त गर्दै नेविसंघकै बसन्त भण्डारी विजयी भएका छन् । उनका प्रतिस्पर्धी अखिल संयुक्तका रविभक्त केसीले ५८३ मत मात्रै पाएका छन् ।

कोषाध्यक्षमा पनि नेविसंघकै ममता केसी ९९६ मतसहित विजयी भएकी छिन् । अखिल संयुक्तका सागर पण्डितले ६ सय ९४ मत प्राप्त गरि पराजित भएका छन् ।

सदस्यमा नेविसंघका बसन्त कँडेल, सुरेश पोख्रेल, विवेक खनाल, जीवन डिसी, अनीषकुमार चौधरी, रमिला चौधरी, पुष्पकमल दाहाल र अनेरास्वियुका सविन पोख्रेल विजयी भएका छन् ।

चैत ५ गते स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन गर्ने कार्यतालिका रहे पनि विप्लवनिकट अखिल क्रान्तिकारीले गरेको तालाबन्दीका कारण चैत ८ गते महेन्द्र बहुमुखी क्याम्पसमा निर्वाचन भएको थियो ।

Published : Thursday, 2023 March 23, 7:56 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया