काठमाडौंमा स्कुटर दुर्घटना हुँदा बाग्लुङका केसीको मृत्यु, ललितपुरमा टिप्परले मान्छे हान्यो

काठमाडौं । काठमाडौं र ललितपुरसहितका स्थानमा भएका दुर्घटनामा ज्यान गएको छ ।

काठमाडौंको चन्द्रागिरी नगरपालिका–११ फ्रुटी कारखानास्थित सडकमा रोकी रहेको ना.७ ख ५७१२ नम्बरको ट्रकमा प्रदेश नं.३–०२–०१० प.३२१७ नम्बरको स्कुटर ठोक्किएर मंगलबार राति दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा स्कुटर चालक बाग्लुङको जैनिनी नगरपालिका–६ घर भएका २३ वर्षीय किरण केसीको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको वीर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

उता, ललितपुर महानगरपालिका–५ महालक्ष्मीस्थानमा ना.१ क ९९८१ नम्बरको टिप्परको ठक्करबाट सोही महानगरपालिका–२० पूर्णचण्डी बस्ने रामेछाप घर भएका ६१ वर्षीय मानबहादुर थापा मगरको मंगलबार दिउँसो मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका उनको पाटन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । टिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यता, नवलपुरको सरावल गाउँपालिका–५ धनगढवामा हाल नम्बर नखुलेको पिकअप गाडीको ठक्करबाट सोही ठाउँ बस्ने ४७ वर्षीया मोतीरानी कोहारको मंगलबार राति मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका उनको क्रिमसन अस्पताल मणिग्राममा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार चालकको प्रहरीले खोजी गरिरहेको छ ।

झापाको कमल गाउँपालिका–४ सीतापुरी स्थित सडकमा हाल नम्बर नखुलेको बोलेरो गाडीको ठक्करबाट सोही गाउँपालिका–५ बस्ने ४० वर्षीय चन्द्रबहादुर राईको मंगलबार राति मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएको उनको उपचारको लागि अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

मुस्ताङको बाह्रगाउँ मुक्तिक्षेत्र गाउँपालिका–३ स्थित सडकमा भे.१ ख २७५४ नम्बरको बसको ठक्करबाट तनहु रिसिङ गाउँपालका–८ चारघरी घर भई हाल नवलपुरको गैडाकोट नगरपालिका–४ बस्ने ७६ वर्षीया खिलमाया श्रेष्ठको मंगलबार दिउँसो मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएकी उनको जिल्ला अस्पताल जोमसोम हुँदै जिल्ला सरकारी अस्पताल बेनी म्याग्दीमा थप उपचारको क्रममा मृत्यु भएको हो ।

बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Published : Wednesday, 2023 March 22, 7:18 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया