भारतलाई टेलिफोन शुल्क घटाउन र नेपाली टिभी हेर्न मिल्ने बनाउन नेपालको आग्रह
नयाँदिल्ली । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले भारतबाट नेपालमा टेलिफोन गर्दा लाग्दै आएको महसुल दर घटाउन भारत सरकारसँग आग्रह गरेकी छिन् ।
नयाँदिल्लीमा बुधवार भएको भारतीय समकक्षीसँगको द्विपक्षीय बैठकमा शर्माले भनिन्, ‘नेपाल र भारतबीच टेलिफोन दरमा ठूलो असमानता छ । भारतमा बोसोबास गर्ने नेपालीहरूले नेपालमा टेलिफोन गर्दा अत्यधिक शुल्क लाग्ने गरेको गुनासो गर्ने गरेका छन् ।’
उनले भनिन्, ‘दुबै देशबीच रहेको टर्मिनल चार्जमा पुनरावलोकन गरी सुलभ महसूल दरमा सेवा उपलब्ध गराउनुपर्ने देख्दछु ।’
नेपाल र भारत नजिकका छिमेकी भएकाले दूरसञ्चार सेवामा बेलाबखत अन्तरदेशीय अवरोध हुने र कतिपय अवस्थामा नेपालको भित्री भागसम्म पनि भारतीय मोबाइल सेवा उपलब्ध हुने गरेकोप्रति उनले ध्यानाकर्षण गराएकी छिन् ।
मन्त्री शर्माले भनिन्, ‘यसमा दुवै देशका सेवा प्रदायक र नियामक सजग हुनुपर्ने देख्दछु ।’
मन्त्री शर्माले भारतीय टेलिभिजन च्यानलहरू नेपालमा सहजै प्रसारण हुने तर नेपाली च्यानलहरू भने भारतमा प्रसारण हुन कठिन रहेकातर्फ ध्यानाकर्षण गराएकी छिन् ।
मन्त्री शर्माले भनिन्, ‘भारतमा नेपाली भाषीको ठूलो सङ्ख्या रहेकोले नेपाली च्यानलहरूको सहज प्रसारण हुने वातावरण मिलाइदिन म विशेष आग्रह गर्दछु । विशेषतः नेपाली च्यानल भारतमा डाउन लिङ्क गर्दा अत्यधिक शुल्क लाग्ने गरेकाले यो सम्भवन भएको हुँदा यसमा भारतीय सरकारबाटै विशेष निर्देश हुन म आग्रह गर्दछु ।’
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया