गिरिजाबाबु आँट भएको नेता : रामहरि खतिवडा

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभाका सांसद रामहरि खतिवडाले गिरिजाप्रसाद कोइरालाले प्रेस स्वतन्त्रताको पक्षमा कसैसँग सम्झौता नगर्ने नेताका रुपमा आफूले लिएको बताएका छन् ।

काठमाडौंमा मंगलबार नेपाल प्रेस युनियनले आयोजना गरेको कार्यक्रममा खतिवडा गिरिजाबाबुको योगदान प्रेसमाथि ठूलो रहेको बताएका हुन् ।

नेता खतिवडाले भने, ‘गिरिजाबाबु नभएको १३ वर्ष भएछ । भरखरै जस्तो लाग्छ । मलाई याद आइरहेको छ ।’

‘नेपालको प्रेस स्वतन्त्रतामाथि कार्यपालिका होइन व्यवस्थापिका सांसद र त्यसका प्रमुखले समेत आक्रमण गर्दा हामी चुप लागेर बसेका थियौं । गिरिजाप्रसाद कोइराला यदि हुनुन्थ्यो भने त्यहि दिन आगो बाल्न पाउनु हुन्थ्यो नेपालको राजनीतिमा, यो अवस्था खड्किएर बसेको छ ।’

‘प्रजातन्त्रमा कहिले काहिँ सबैलाई लिएर हिँड्ने आँट गर्ने नेताहरू बिरलै पाइन्छ’, उनले भने, ‘एउटाले अर्कोको आलोचना गर्ने, एउटाले अर्कोको खुट्टा तान्ने, एउटाले अर्कोलाई समाप्त गर्ने काम गरेको हामी ईतिहाँस पढेर थाहा पाउँछौं ।’

खतिवडाले भने, ‘नेपालको शान्ति प्रक्रियामा हाम्रो सबैभन्दा बढि साथीहरूलाई शाहदत गर्ने शक्तिहरूलाई हातेमालो गरेर नेपालमा गिर्दै गरेको राजनीतिलाई एउटा आशाको केन्द्र गरेर नेपाली कांग्रेसका कार्यकर्तामात्रै होइन देशमा आगो लागिरहेको बेलामा, कार्यकर्ताहरू मरिरहेको बेलामा, नेपाली नागरिक र नेपाललाई त्यो ज्वालाबाट बाहिर निकाल्ने काम राजनेता गिरिजाप्रसाद कोइरालाले गर्नुभयो ।’

‘गिरिजाबाबुप्रतिको सच्चा श्रद्धाञ्जलि त्यो दिन हुनेछ जुनदिन कुनै पनि हिंसात्मक राजनीति सदाका लागि अन्त्य गरेर, हिंसाको राजनीति सदाको लागि अन्त्य भएर राजनीति अगाडि बढ्यो भने त्यो दिन सारा नेपालीलाई शान्तिको महशुस हुनेछ’, उनले भनेका छन् ।

‘यसको सार्थकता हुनेछ । हामी पाँच वर्षसम्म सबै शक्तिलाई मिलाएर लैजान सक्यौँ भने सच्चा श्रद्धाञ्जलि हुनेछ’, कांग्रेस नेता खतिवडाले भनेका छन् ।

कांग्रेस निकटको नेपाल प्रेस युनियन केन्द्रीय समितिले गिरिजाप्रसाद कोइरालाको १३औं स्मृति दिवसका अवसरमा ‘नागरिक स्वतन्त्रताका लागि गिरिजाप्रसाद कोइरालाको योगदान’ विषयक विचार गोष्ठी राखेको थियो ।

कार्यक्रममा कांग्रेसका महामन्त्री गगनकुमार थापा, सह–महामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’, केन्द्रीय सदस्यद्वय शेखर कोइराला र रामहरि खतिवडा, प्रेस युनियनका पूर्वअध्यक्ष हरिहर विरही, राष्ट्रिय समाचार समितिका अध्यक्ष धर्मेन्द्र झा, नेपाल पत्रकार महासंघका सभपति विपुल पोखरेल, प्रेस युनियनका अध्यक्ष शिव लम्साल लगायतको उपस्थिति रहेको थियो ।

Published : Tuesday, 2023 March 21, 8:45 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया