कांग्रेसका गिरी–राणाका कारण प्यूठानमा बहुमत क्याम्पसमा नेविसंघ सर्वसम्मत

काठमाडौं । प्यूठान जिल्लामा रहेका पाँच वटा क्याम्पसमध्ये नेपाली कांग्रेस निकटको नेपाल विद्यार्थी संघ (नेविसंघ)ले बहुमत क्याम्पसमा सर्वसम्मत नेतृत्व हत्याएको छ ।

निर्वाचित सबैलाई निर्वाचन समितिले सोमबार प्रमाण पत्र प्रदान गरेको छ । नेविसंघ ५ क्याम्पसमध्ये २ वटा क्याम्पसमा नेतृत्व पाउन सफल भएको छ ।

प्यूठान क्याम्पसको सभापतिमा नेविसंघका हिमाल जिसी र अमर क्याम्पसको सभापतिमा नेविसंघकै श्रीधर खड्का सर्वसम्मत चयन भएका छन् ।

दुई वटा क्याम्पसमा नेविसंघलाई नेतृत्व दिलाउनका लागि कांग्रेसका जिल्ला सभापति विष्णु गिरी र कांग्रेसका क्षेत्रीय सभापति तथा लुम्बिनी प्रदेश सभाका सांसद रोज राणाले विशेष भूमिका खेलेका थिए । प्यूठानमा निकै कमजोर रहेको कांग्रेस र नेविसंघलाई गिरी र राणाको पहलमा क्रमशः जनप्रतिनिधि निकायमा निर्वाचित भएर आउने क्रममा छन् ।

नेविसंघलाई दुई वटा क्याम्पसमा सर्वसम्मत नेतृत्व दिलाएर गिरी र राणाले आफ्नो बर्चश्व जमाएका छन् । प्यूठानमा नेविसंघ बहुमत क्याम्पसको नेतृत्वमा पुगेको छ ।

प्यूठानमा रहेका स्वर्गद्वारी बहुमुखी क्याम्पसमा एमाले निकटको अनेरास्ववियुका टेकराज केसी, झिमरुक बहुमुखी क्याम्पसमा अनेरास्ववियु (क्रान्तिकारी)का नरेश पुन र गौमुख क्याम्पसमा अखिल (छैठौं)का रजत जिसी सभापतिमा सर्वसम्मत भएका छन् ।

हुन त प्रदेश सभाको निर्वाचनमा कांग्रेसका क्षेत्रीय सभापति राणा प्रदेश सभामा निर्वाचित भएका छन् । झण्डै ३० वर्षपछि प्यूठानमा कांग्रेसले पहिलो पटक आफूलाई बलियो रुपमा उभ्याउँदै सांसद जितेको थियो ।

कांग्रेसले आफूलाई प्यूठानमा बलियो रुपमा अगाडि बढाइरहेको छ । प्यूठानमा जिल्ला सभापति गिरी र क्षेत्रीय सभापति राणाको समन्वयमा कांग्रेसलाई जिल्ला समन्वय समितिको संयोजक, पालिकाहरूको प्रमुख, वडाध्यक्ष र सदस्यहरूमा उल्लेख्य संख्यामा निर्वाचित गराइएको छ ।

Published : Monday, 2023 March 20, 7:30 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया