सभापति लामिछानेले ‘बुद्धिमान’को निर्णय गरे

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने निर्णय गरेको छ ।

काठमाडौंमा आइतबार बसेको संसदीय दलको बैठकले प्रधाानमन्त्री दाहाललाई विश्वासको मत दिने निर्णय गरेको हो ।

प्रधानमन्त्रीलाई विश्वासको मत दिने र सत्ता पक्षको बेञ्चमा बस्ने निर्णय गरेको प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिएका छन् ।

प्रधानमन्त्री दाहालले भोलि सोमबार प्रतिनिधि सभाको बैठकमा विश्वासको मत लिन लागेका छन् । रास्वपाले प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेर सरकारमा सहभागी हुने बाटो खोलेको छ ।

पुस १० गते माओवादी केन्द्रका अध्यक्ष दाहालले प्रधानमन्त्रीमा दाबी गर्दा रास्वपाले पनि समर्थन गरेको थियो । पुस ११ गते रास्वपा सभापति रवि लामिछाने उप–प्रधान तथा गृहमन्त्री भएका थिए ।

सभापति लामिछाने माघ ३ गते रास्वपाका डोलप्रसाद अर्याल श्रम र शिशिर ढकाल शिक्षामन्त्री तथा तोसिमा कार्की स्वास्थ्यराज्यमन्त्री भएका थिए ।

माघ १३ गते सर्वोच्च अदालतले लामिछानेको सांसद पद खारेज गरेपछि मन्त्री पद पनि गएको थियो ।

रास्वपाले माघ २२ गते सरकार छाडेको थियो । सरकारबाट फिर्ता भए पनि रास्वपाले समर्थन फिर्ता लिएको थिएन ।

फागुन २५ गतेको राष्ट्रपति चुनावमा १० दलको गठबन्धनका उम्मेदवार रामचन्द्र पौडेललाई रास्वपाले समर्थन गरेर मतदान गरेको थियो ।

Published : Sunday, 2023 March 19, 1:33 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया