ओली निकटका घिमिरेले बढ्ता बोलेपछि अब घुँडा टेकाउने, बालकोटलाई तनाब

काठमाडौं । नेपाल पत्रकार महासंघले सभामुख देवराज घिमिरेको अभिव्यक्तिलाई लिएर कडा आपत्ति जनाएको छ ।

महासंघका महासचिव रोशन पुरीले शनिबार विज्ञप्ति जारी गरेर सभामुख घिमिरेको अभिव्यक्तिको भर्त्सना गरेका हुन् ।

उनले भनेका छन्, ‘संघीय संसदले बनाउने सञ्चार क्षेत्रसँग सम्बन्धित कानूनका विषयमा छलफल गर्न र नवनिर्वाचित सभामुखलाई बधाई ज्ञापन गर्ने कार्यक्रमसहित शुक्रबार सभामुख देवराज घिमिरे र नेपाल पत्रकार महासंघको प्रतिनिधि मण्डलबीच भएको भेटघाटका क्रममा सभामुखबाट नेपाली सञ्चार क्षेत्रका बारेमा व्यक्त भएको अभिव्यक्तिबाट समग्र सञ्चार क्षेत्रको आत्मसम्मानमा गम्भीर चोट पुगेको ठहर नेपाल पत्रकार महासंघले गरेको छ ।’

‘सार्वभौम संसदको मूल नेतृत्वबाटै आफ्नो पदीय हैसियत र मर्यादाविपरित सञ्चार क्षेत्रप्रति आधारहीन र आपत्तीजनक अभिव्यक्ति प्रकट हुनु अत्यन्त दुःखद् छ’, पुरीले भनेका छन् ।

‘नेपालको राजनीतिक स्वतन्त्रता, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र नागरिक अधिकारको पक्षमा अनवरत संघर्ष गर्दै आएको नेपाली सञ्चार क्षेत्र क्रमशः व्यावसायिकतातर्फ उन्मुख भइरहेको बेला समग्र प्रेस जगतलाई लान्छित गर्ने अभिव्यक्ति आउँनुले यस क्षेत्रको विश्वसनीयता र व्यावसायिकतामा आँच आउन सक्नेतर्फ महासंघ गम्भीर चासो र चिन्ता प्रकट गर्दछ’, महासंघको विज्ञप्तिमा उल्लेख छ ।

‘सभामुखको अभिव्यक्तिप्रति तत्काल नै महासंघको नेतृत्वले सभामुखको सचिवालयमार्फत ध्यानाकर्षण गराएको र सभामुखबाटै उक्त आधारहीन अभिव्यक्ति फिर्ताका लागि आग्रह गरेको थियो’, विज्ञप्तिमा भनिएको छ ।

‘सचिवालयबाट सामान्य प्रष्टीकरणबाहेक उहाँको आधिकारिक धारणा आउन सकेन’, महासचिव पुरीले भनेका छन्, ‘महासंघ जन निर्वाचित संसद् र त्यसको नेतृत्व नेपालको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा पूर्ण प्रतिवद्ध भएको व्यवहारमा देख्न चाहँन्छ ।’

महासंघले भनेको छ, ‘आफ्ना आरोपहरू पुष्टि गर्न वा आधारहीन आरोप फिर्ता लिई सञ्चार क्षेत्रको संवैधानिक अधिकार र स्वतन्त्रताप्रति पूर्ण प्रतिवद्धता जनाउन सभामुख समक्ष महासंघ आग्रह गर्दछ ।’

‘सभामुखबाट आएको आधारहीन अभिव्यक्ति तत्काल फिर्ता नभएमा महासंघ कानूनीलगायतका अन्य दबाबमूलक कार्यक्रम अगाडि बढाउन बाध्य हुने जानकारी गराइन्छ’, महासचिव पुरीले चेतावनी दिएका छन् ।

यसैबीच, संसदीय मामिला पत्रकार समाजले पनि सभामुख घिमिरेको अभिव्यक्तिको विरोध गरेको छ । समाजले विज्ञप्ति जारी गरेर घिमिरेको अभिव्यक्तिको कडा रुपमा विरोध जनाएको छ ।

सभामुख घिमिरे एमालेका अध्यक्ष खड्गप्रसाद ओली निकटका हुन् । ओलीले नै घिमिरेलाई सभामुख बनाएका थिए । ओलीप्रति घिमिरे निकै बफादार रहेका छन् । ओलीकै शैली र भाषामा सभामुख जस्तो पदमा बसेर घिमिरेले तुच्छ अभिव्यक्ति दिएको भनेर पत्रकार महासंघ रिसाएको छ ।

Published : Saturday, 2023 March 18, 7:42 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया