रामहरिले सम्झाएपछि मधेश सरकारले क्रिकेट खेलाडीलाई भेदभाव नगर्ने, सबैलाई सम्मान गर्ने

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभाका सांसद रामहरि खतिवडाले मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई सबै क्रिकेट खेलाडीलाई बराबरी व्यवहार गर्न आग्रह गरेका छन् ।

शनिबार खतिवडाले शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलद्वारा आयोजित चियापान कार्यक्रममा मुख्यमन्त्री यादवसँग भेट भएका बेला सबै क्रिकेट खेलाडीहरूलाई समान व्यवहार गरेर समान सम्मान गर्न सुझाव दिएका हुन् । खतिवडाको आग्रह र सुझावपछि मुख्यमन्त्री यादवले आफ्नो प्रदेशका खेलकुद हेर्ने मन्त्रीलाई सबै क्रिकेट खेलाडीहरूलाई समान सम्मान गर्न निर्देशन दिने आश्वासन दिएका छन् ।

नेपाली क्रिकेट टिमले विश्वकप छनौटीको फाइनल खेलमा युएईलाई जितेपछि मुधेश प्रदेश सरकारले क्रिकेटका दुई जना खेलाडीलाई मात्रै नगदसहित सम्मान गर्ने घोषणा गरेको थियो । ती दुई खेलाडी मधेश प्रदेशका रहेका थिए ।

कांग्रेसका नेता खतिवडाले खेलाडीहरू राष्ट्रका गहना भएका कारण सबै खेलाडीलाई समान व्यवहार र सम्मान गर्नुपर्ने बताएका छन् । राष्ट्रिय टिमका खेलाडीमध्ये आफ्नो प्रदेशको मात्रै खेलाडीलाई सम्मान गर्ने कार्यले खेल र खेलाडीहरूको अपमान गरेको अनुभूति हुने खतिवडाले बताएका छन् ।

खतिवडाले मुख्यमन्त्री यादव, जनता समाजवादी पार्टी नेपालका प्रदेश सभा सांसद मनीष सुमनलगायतका नेताहरूलाई पनि शुक्रबार संसद भवनमा खेलाडीहरूलाई भेदभाव नगर्न आग्रह गरेका थिए ।

Published : Saturday, 2023 March 18, 5:06 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया