काठमाडौंका दुई ‘निकम्मा’ डीएसपीहरूलाई कारबाही

काठमाडौं । नेपाल प्रहरीले प्रहरी नायब उपरीक्षक (डीएसपी)द्वय रविन विष्ट र गणेशबहादुर बमलाई कारबाही गरेको छ ।

काठमाडौंको बालाजुमा प्रहरीको गाडीमाथि आगजनी र तोडफोडको घटना रोक्न नसकेको भन्दै प्रहरी वृत्त बालाजुका तत्कालीन डीएसपी विष्टमाथि कारबाही गरिएको उच्च स्राेतले जनाएकाे छ । कारबाहीस्वरूप विष्टको ३ वर्ष बढुवा रोक्का भएको छ ।

बालाजुमा भएको यातायात मजदुरको आन्दोलनको घटनामा दुई जना डीएसपीलाई कारबाही गर्न सिफारिस गरिएको थियो ।

बालाजुको आन्दोलनमा ठूलो क्षति भएपछि काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले डीआइजी मसाउद आलम खाँको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेको थियो । समितिले दुई जना डीएसपीलाई कारबाही गर्न सिफारिस गरेको थियो ।

विष्टको तीन वर्ष बढुवा रोक्का र प्रहरी वृत्त सोह्रखुट्टेका डीएसपी गणेशबहादुर बमलाई भने सचेत गराइएको छ । फागुन १ गते भएको आन्दोलनमा प्रहरी वृत्त बालाजुका डीएसपी चढ्ने बा २ झ १४४ नम्बरको गाडी र बा १ झ ७२२४ नम्बरको अर्को गाडीमा तोडफोड गरी जलाइएको थियो ।

आन्दोलनकारीले अस्थायी प्रहरी बिट जलाएका थिए । ट्राफिक आइल्यान्डमा पनि तोडफोड भएको थियो । आन्दोलनको बेलामा ल्होत्से मलमा पनि तोडफोड भएको थियो ।

Published : Friday, 2023 March 17, 8:54 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया