गगन थापाका कुराले प्रचण्डलाई ठूलो राहत

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सत्ता गठबन्धनमा उप–राष्ट्रपति चुनावमा देखिएको फरक मतले सरकारलाई कुनै असर नगर्ने बताएका छन् ।

शुक्रबार नयाँ बानेश्वरस्थित संसद भवनमा पत्रकारहरूसँग कुरा गर्दै थापाले थापाले एउटै उम्मेदवार बनाउने कोसिस भएको तर, त्यो सम्भव नभएपछि सल्लाहले नै फरक ठाउँमा उभिएको बताए ।

प्रधानमन्त्रीलाई विश्वासको मत दिने बेला एकठाउँमा आउने उनले बताएका छन् । ‘यसले सरकारको निरन्तरतामा फरक पार्दैन’, महामन्त्री थापाले भनेका छन् ।

राष्ट्रपति निर्वाचनका बेला भएको समझदारी कार्यान्वयन भएकाले कांग्रेसले पनि विश्वासको मत दिने महामन्त्री थापाले बताएका छन् ।

उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिनुअघि नै कांग्रेससत्तापक्ष बन्ने बताएका छन् । थापाले ५ गतेको बैठकअघि नै कांग्रेसले निर्णय गरेर विश्वासको मत दिने र सत्तापक्षमा भएको निर्णय गर्ने बताए । चैत ५ गते प्रतिनिधि सभाको बैठक तय भएको छ । चैत ६ गते प्रधानमन्त्री दाहालले विश्वासको मत लिने घोषणा गरेका छन् ।

विश्वासको मतका लागि कार्यसूची व्यवस्थापन गर्न अनुरोध गर्दै दाहालले बिहीबार संसद् सचिवालयमा पत्र पठाएका छन् ।

संविधानको धारा १०० (२) मा ७६ (२) बमोजिमको मिलिजुली सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मतका लागि प्रतिनिधि सभासमक्ष प्रस्ताव राख्नुपर्ने व्यवस्था छ । विश्वासको मत सिद्ध गर्न बहुमत अर्थात् १ सय ३८ सांसद आवश्यक पर्छ ।

पुस १० गते एमाले, माओवादी केन्द्र, रास्वपा, राप्रपा, जनमत, जसपा, नागरिक उन्मुक्ति र तीनजना स्वतन्त्र गरी १ सय ६९ सांसदको समर्थनमा माओवादी अध्यक्ष दाहालको नेतृत्वमा बनेको सरकारबाट १३ फागुनमा राप्रपा र १५ फागुनमा एमालेले समर्थन फिर्ता लिएका थिए ।

राष्ट्रपति चुनावलाई लिएर फागुन १२ गते कांग्रेससहित ८ दलीय सत्तागठबन्धन बनेपछि समीकरण फेरिएको छ ।

Published : Friday, 2023 March 17, 8:21 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया