सालझण्डी-बुर्तिबाङ-ढोरपाटन सडकको काम अगाडि बढ्यो

काठमाडौं । बाग्लुङ जिल्लाको सालझण्डी–बुर्तिबाङ–ढोरपाटन सडक निर्माणको काम अगाडि बढेको छ ।

ठेक्का लागेको लामो समयसम्म पनि यो सडकमा काम हुन सकेको थिएन । निकै ढिलासुस्ती भएपछि ढोरपाटन नगरपालिकाका उप–मेयर कल्याण कायतले सडक डिभिजन कार्यालय, ठेकेदार कम्पनी र सरोकारवाला निकायलाई दवाव दिएर सडक निर्माणको काम अगाडि बढाउन लगाएका हुन् ।

सालझण्डी–बुर्तिबाङ–ढोरपाटन सडक सम्पन्न भएमा ढोरपाटनको विकास र जनताको आर्थिक उन्नतिमा ठूलो सहयोग मिल्नेछ ।

ठेकेदार रमेश लामाले ‘ओम बुद्ध ईन्टरनेश्नल कन्ट्रक्सन (प्रा)लि.बाट सडक निर्माणको काम गरिरहेका छन् । यो सडक फराकिलो बनाउने र कालोपत्रे गर्नुपर्नेछ ।

नेपाली कांग्रेसका युवा नेता समेत रहेका उप–मेयर कायतले ढिला भए पनि सडक निर्माणको काम अगाडि बढेकोमा खुसी व्यक्त गरेका छन् । उनले सडक निर्माणका क्रममा हुने अबरोध र समस्यालाई आफूले सक्ने सहयोग गरेर सहजता बनाइदिने बताएका छन् ।

सरकारका आयोजनाहरू ठेक्का लिएर समयमा काम नगर्ने कार्य निकै बढेर गएको छ । ठेक्कावापत पाइने २५ प्रतिशत रकम लिएर ठेकेदारहरूले मोजमस्ती गर्ने गरेका छन् । सोही कारण आयोजनाहरू समयमा पूरा नहुने, लागत बढ्ने, ठेकेदार कम्पनी कालोसूचीमा पर्ने जस्ता कार्य हुँदै आएका छन् ।

Published : Friday, 2023 March 17, 10:58 am

फेसबुकबाट तपाईको प्रतिक्रिया