शिवशरणलाई एनसीबीले युएईबाट पक्राउ गरेर काठमाडौं ल्यायो

काठमाडौं । नेपाल प्रहरीले २३ वर्षीय शिवशरण चौधरीलाई पक्राउ गरेको छ ।

ईन्टरपोलबाट रेड नोटिस् जारी भई कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी कपिलवस्तुको भृकुटी नगरपालिका–७ ठेगाना भएका चौधरीलाई पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।

कपिलवस्तुको बुद्धभूमि नगरपालिका–४ बस्ने ६६ वर्षीय गंगाराम थारुलाई २०७६ साउन ७ गते धारिलो हतियार प्रयोग गरी हत्या गरेको घटनामा संलग्न रही शिवशरण चौधरी फरार रहेका थिए ।

शिवशरणलाई एनसिबी काठमाडौंको अनुरोध तथा एनसिबी अबुधाबी युएईको सहयोगमा युएईबाट पक्राउ गरेको हो ।

घटना पश्चात शिवशरण चौधरी फरार भई युएई बसेको अनुसन्धानको क्रममा खुल्नआएको थियो ।

ईलाका प्रहरी कार्यालय, गोरुसिंगे, कपिलवस्तुमार्फत नेपाल प्रहरी प्रधान कार्यालय ईन्टरपोल शाखामा प्राप्त भए बमोजिम चौधरीको अन्तर्राष्ट्रियस्तरमा खोजतलासको लागि ईन्टपरपोल शाखाको अनुरोधमा ईन्टरपोल महासचिवालयबाट २०७९ भदौ १४ गते उनी विरुद्द रेड नोटिस् जारी भएको थियो ।

ईन्टरपोल शाखाबाट २०७९ भदौ १५ गते चौधरीविरुद्ध जारी भएको रेड नोटिस् एनसिबी अबुधाबी युएईलाई जानकारी गराउनुको साथै शिवशरण चौधरीलाई पक्राउ गरी सपुर्दगी गर्न अनुरोध गरिएको थियो ।

२०७९ भदौ २१ गते एनसिबी अबुधाबीले उनलाई पक्राउ गरि सपुर्दगीको लागि आवश्यक कागजात माग गरेको थियो ।

एनसिबी काठमाडौंले माग भए बमोजिमको कागजात खुलाई पठाए पश्चात फागुन ११ गते शिवशरण चौधरीलाई नेपाल सपुर्दगी गर्ने प्रयोजनार्थ सुरक्षा टोली पठाई दिन भनि जानकारी प्राप्त भएको थियो ।

एनसिबी काठमाडौंबाट खटिएको प्रहरी टोलीले शिवशरण चौधरीलाई बिहीबार नेपाल ल्याएको विज्ञप्तिमा उल्लेख छ ।

उनलाई आवश्यक अनुसन्धानको लागि ईलाका प्रहरी कार्यालय गोरुसिंगे, कपिलवस्तुलाई बुझाइएको छ ।

Published : Thursday, 2023 March 16, 10:13 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया