प्रहरीबाट भागेका अंसिकलाल यादव पक्राउ

काठमाडौं । बारा जिल्लामा हतकडीसहित भागेका व्यक्तिलाई प्रहरीले पुनः पक्राउ गरेको छ ।

पचरौता नगरपालिका वडा नं. ८ बाजोपट्टी बस्ने ३६ वर्षीय अंसिकलाल यादवलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाराका डीएसपी पुरूषोत्तम पाण्डेले यादवलाई पक्राउ गरिएको पुष्टि गरेका छन् ।

यादव ज्यान मार्ने उद्योगका प्रतिवादी हुन् । कात्तिक १९ गते बिहान १० बजे बाजोपट्टीका कपिलदेव यादव, गोपाल यादव, दुगान्धी देवी समेतलाई उनीसहित ६ जनाले मिलेर ज्यान मार्ने मनसायले घेरा हालेर बाँस, फलाम लगायतले प्रहार गरेका थिए ।

घटनामा फरार रहेका अंसिकलाललाई प्रहरीले पुस ४ गते पक्राउ गरेको थियो । उनलाई प्रहरीले बाराको बेलाहीस्थित महावीर झन्डा मेलामा फेला पारेको थियो ।

मेलामा फेला पारी हतकडी लगाएर ल्याउने क्रममा मेलामा स्थानीय व्यक्तिहरूले प्रहरीसँग तानातान गर्ने क्रममा उनी भागेका थिए ।

खोजी गर्नेक्रममा उनलाई बिहीबार बारागढी गाउँपालिका–४ मा लुकेर बसेको अवस्थामा उनलाई पक्राउ गरिएको प्रहरीले बताएको छ ।

Published : Wednesday, 2023 March 15, 11:46 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया