राप्रपाको कार्यले एमालेलाई ठूलो निराशा, आन्दोलनको कार्यक्रम घोषणा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले उप–राष्ट्रपति निर्वाचनमा सहभागी नहुने निर्णय गरेको छ ।

राप्रपाको यो निर्णयले एमालेलाई ठूलो धक्का लागेको छ । एमालेले राप्रपाबाट उप–राष्ट्रपतिमा ठूलो अपेक्षा लिएको थियो ।

बुधबार धुम्बाराहीमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले उप–राष्ट्रपति पदको निर्वाचनमा सहभागी नहुने निर्णय गरेको हो ।

प्रवक्ता मोहन श्रेष्ठद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘आसन्न उप–राष्ट्रपति निर्वाचनको मतदानमा राप्रपाले मत नदिने, तटस्थ बस्ने निर्णय गरेको छ ।’

राप्रपाले यसअघि राष्ट्रपति निर्वाचनमा पनि मतदान नगरेर बसेको थियो । राप्रपाले राष्ट्रपति चुनावमा सहभागी नभएर बहिस्कारको नीति लिएको छ ।

राप्रपाले रासायनिक मलको अनुदान घटाउने निर्णयको विरोध गरेको छ ।

‘किसानले रासायनिक मलमा पाउँदै आएको अनुदान घटाउने र मूल्यवृद्धि गर्ने निर्णय अदुरदर्शी, अमानवीय रअनुचित छ’, राप्रपाले भनेको छ ।

राप्रपाले भनेको छ, ‘यो निर्णय तत्काल फिर्ता लिन, सुलभ ढंगले समयमै मल आपूर्तिको व्यवस्था मिलाउन र मल आपूर्ति समस्याको दीर्घकालीन समाधानका लागि देशभित्रै मल कारखाना स्थापनाको प्रक्रिया प्रारम्भ गर्न राप्रपा सरकारको ध्यानाकर्षण गराउँदछ ।’

राप्रपाले रासायनिक मल सम्बन्धमा पार्टीको ७७ वटै जिल्ला समितिले एक हप्ताभित्र प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई ज्ञापनपत्र बुझाउने, धर्ना दिने र सभा गर्ने निर्णय गरेको छ ।

राप्रपाले हाल बैंकहरूबाट ब्याज बढ्न थालेकाले साना उद्योगी, व्यवसायी, किसान लगायत सम्पूर्ण आर्थिक क्षेत्रमा ठूलो र नकारात्मक असर परिरहेको जनाएको छ ।

बैंक तथा वित्तीय संस्थाहरूले ऋणीहरूसंग उठाइरहेको ब्याजदर तत्काल नियन्त्रण गर्न, अस्वभाविक रुपमा बढेको ब्याज घटाउन र देशमा वित्तीय सन्तुलन कायम राख्न राप्रपा सरकारको ध्यानाकर्षण गराएको छ ।

‘बैंकको ब्याजदरकै विषयमा आन्दोलनरत व्यवसायीहरूको माग तत्काल सम्बोधनका लागि सरकारसंग राप्रपा बैठकले माग गरेको छ’, राप्रपाले भनेको छ ।

Published : Wednesday, 2023 March 15, 10:39 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया