पार्टीभित्रैबाट असहयोग भएको गगन थापाको खुलासा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीभित्र विचार निर्माणको सवालमा खुलेर बहस गर्नुपर्ने बेला आएको बताएका छन् ।

मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा थापाले आफूले केही वैचारिक छलफल चलाउन खोजेको बताएका हुन् । उनले त्यसमा पार्टीभित्रैबाट साथ नपाएको बताए ।

उनले पार्टीभित्रैबाट वीपी कोइरालामाथि अन्याय भइरहेको बताएका छन् । थापाले समस्या समाधान गर्न पनि वीपी कोइरालाले नै भनिदिएको हुनुपर्ने अवस्था पार्टीभित्र रहनु वीपीमाथि नै कांग्रेसले अन्याय गर्नु रहेको बताएका हुन् ।

उनले नेपालमा सृजना भएका रोजगारीमा नेपालीहरूले काम नपाउने चुनौती रहेको बताएका छन् । महामन्त्री थापाले समस्याको समाधान वीपी कोइरालाको भनाइलाई खोजेर गर्न नसकिने बताएका छन् ।

महामन्त्री थापाले भने, ‘हाम्रो भागको समस्याको समाधान हामी आफैंले गर्नुपर्छ । त्यसमा लाग्न पनि ट्रेड युनियन कांग्रेसका पदाधिकारीहरू सचेत हुनुपर्छ ।’

उनले भने, ‘रोजगारी सृजना हुन्छ । नेपालीले पाउँदैनन् त्यसमा काम । आज के, कति कारणले नेपाली कामदारहरू काम लागि रहेका छैनन् ? सानो गार्मेन्ट खोल्ने मान्छेलाई हामीले कुरा गर्न गयो भने के, कति कारणले गर्दा होला उसले पनि नियतवश नेपालीलाई कामै दिन्न भनेको त होइन होला ।’

महामन्त्री थापाले भने, ‘तर के, कति कारणले नेपाली कामदारहरू काम लागि रहेको छैन ? आजको च्यालेञ्ज यस्तो आएको छ । यस्तो बेलामा पनि हामीले पुरानो वीपी कोइरालाले यसको बारेमा केही–केही बोलिदिनु भएको थियो कि, भनिदिनु भएको थियो कि भनेर त्यहाँ खोज्न जानु भनेको त वीपीमाथि अन्याय गर्नु हो नि त ।’

वीपी कोइराला कांग्रेसका लागि मूल विचारधाराको स्रोत भए पनि आजको चुनौति हामी आफैंले समाधान गरेर अघि बढ्नुपर्ने महामन्त्री थापाले बताएका छन् ।

वैदेशिक रोजगारीमा जान दिने अनि त्यसो गर्नु गलत छ भनेर मुलुकलाई अघि बढाउन नसकिने थापाले बताएका छन् ।

Published : Tuesday, 2023 March 14, 9:55 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया