एमालेको गुटको राष्ट्रपति बनेकाले भण्डारीको विदाइ पनि सहज हुन सकेन : कांग्रेस नेता चौरासिया

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पर्सा २ का सांसद अजयकुमार चौरासियाले विद्यादेवी भण्डारीको राष्ट्रपतिको कार्यकाल एमालेको कार्यकर्ताजस्तो भएको टिप्पणी गरेका छन् ।

एउटा टेलिभिजनमा अन्तर्वार्ताका क्रममा नेता चौरासियाले राष्ट्रपति डा.रामवरण यादवको कार्यकाल अत्यन्त सफल रहे पनि त्यसलाई विद्यादेवी भण्डारीले जोगाउन नसकेको बताए ।

‘राष्ट्रपतिको सीमा नाघेर नागरिकता विधेयकमा लालमोहर लगाउनुभएन’, उनले भने, ‘संसद विघटनमा संविधानको पालना गर्नुभएन ।’

नेता चौरसियाले भने, ‘एउटा पार्टीको नेताको दबाबमा खुसी पार्न संवैधानिक राष्ट्रपति पदको मर्यादालाई बिर्सेर कार्यकारी राष्ट्रपति बन्ने प्रयास गर्नुभयो ।’

‘राष्ट्रपति विद्यादेवी भण्डारीको दोस्रो कार्यकाल सुखद् रहन सकेन’, उनले भनेका छन् । राष्ट्रपतिले असन्तुष्टि र असहमति राख्न पाए पनि संविधानलाई कुल्चिन नमिल्ने चौरासियाले उल्लेख गरेका छन् ।

राष्ट्रपति भण्डारीको कार्यकाल सन्तोषजनक नरहेको र एमालेको कार्यकर्ता बन्न पुगेको भन्दै बहिर्गमन पनि सुखद् हुन नसकेको कांग्रेस नेता चौरसियाले बताएका छन् ।

नेता चौरासियाले राष्ट्रपति रामचन्द्र पौडेलको कार्यकाल सबैभन्दा अब्बल हुने बताएका छन् । रामचन्द्र पौडेल लोकतन्त्र बहालीका लागि लामो समय जेलमा बिताएको, मन्त्री हुँदा पनि कहिले नैतिक आचारणको खिलापमा काम नगरेको, उच्च नैतिकता काम गरेको, कुनै आक्षेप पनि नलागेको सादगी नेता भएको बताए ।

पौडेल मूल्य र मान्यताको राजनीति गर्ने व्यक्ति भएको उनको भनाइ छ । कुनै पनि परिस्थितिमा विचलित भएर काम नगरेको उनको ट्रयाक रहेको चौरासियाले बताएका छन् । पौडेलको कार्यकाल विवादरहित र निष्पक्ष हुने उनले बताएका छन् ।

संविधानभित्र रहेर अधिकारको पालन गरेर संविधानको रक्षा र पालन गर्ने सहि ढंगमा लोकतन्त्र अघि बढोस् भनेर सरकारलाई घचघच्याउने काम पौडेलले गर्ने चौरासियाले बताएका छन् ।

राष्ट्रपतिको भूमिका विवादरहित हुनुपर्ने उनले बताएका छन् । जसपाको भागमा उप–राष्ट्रपति परेको र कांग्रेसले जसपाका रामसहाय यादवलाई समर्थन गर्ने बताएका छन् ।

उप–राष्ट्रपतिका उम्मेदवार यादव गठबन्धनको साझा उम्मेदवार भएको उनले बताएका छन् । सत्ता गठबन्धनका दलहरू बसेर एउटै उम्मेदवार तय गर्ने र सीके राउतले उठाएको उम्मेदवार ममता झाले फिर्ता गराइने चौरासियाले बताएका छन् ।
जनमत पार्टीलाई अन्य भागवण्डामा समाहित गरेर सहमतिमा ल्याइने उनको भनाइ छ ।

मधेश प्रदेशमा कांग्रेस सबैभन्दा ठूलो दल भएकाले मुख्यमन्त्रीमा दाबी रहेको बताएका छन् । मुख्यमन्त्रीका विषयमा गठबन्धनभित्रबाट टुंगो लाग्ने बताए । यो पटक कार्यकाल कांग्रेसले सम्हाल्ने उनको भनाइ छ ।

उनले मधेश प्रदेशबाट आफू मन्त्री बन्ने चर्चा रहेको सुनेको भन्दै पार्टी र नेतृत्वले जे जिम्मेवारी दिन्छ त्यसलाई निर्वाह गर्ने बताएका छन् । जुनसुकै मन्त्रालय पाए पनि आफूले चलाउन सक्ने उनको भनाइ छ ।

मुलुक अत्यन्त जटिल अवस्थामा रहेको, ब्याजदर बढ्दै गएको, वेस रेट पनि बढाएको भन्दै राष्ट्र बैंकले अग्रसरता लिएर तुरुन्तर ब्याजदर घटाउन माग गरेका छन् ।

सात प्रतिशतमा लिएको ब्याजदर १५ प्रतिशतसम्म पुगेको भन्दै यो राष्ट्र बैंकको वेसरेट बढेकाले भएको र यसलाई नियन्त्रण गर्नुपर्ने उनको भनाइ छ ।

सरकारले यसमा ध्यान नदिए अर्को पक्षले फाइदा उठाउने भएकाले प्रधानमन्त्री प्रचण्डले ८ दलीय गठबन्धनबाट यो परिस्थितिबाट देशलाई निकाल्ने बताएका छन् ।

Published : Tuesday, 2023 March 14, 5:19 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया