राष्ट्रपति पौडेललाई भारतले दियो बधाइ तथा शुभकामना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेललाई भारतीय राष्ट्रपति द्रौपदी मुर्मुले बधाई ज्ञापन गरेकी छिन् ।

सोमबार पद तथा गोपनीयताको शपथ लिएका राष्ट्रपति पौडेललाई भारतीय समकक्षी मुर्मुले पत्र लेखेर नेपालको राष्ट्रपतिमा नियुक्त भएकोमा आफू र भारतीय नागरिकका तर्फबाट हार्दिक बधाई ज्ञापन गरेकी हुन् ।

पत्रमा उनले भारत र नेपालबीच छिमेकी देशका हैसियतले निकै लामो समयदेखि सौहार्दपूर्ण सम्बन्ध रही आएको र दुई देशका नागरिकबीच जनसम्पर्क महत्वपूर्ण रहेको उल्लेख गरेकी छिन् ।

मुर्मुले भारत र नेपालबीचको निकै पुरानो सम्बन्धमा पछिल्ला केही वर्ष यता उल्लेखनीय प्रगति हुँदै गएको बताएकी छिन् ।

राष्ट्रपति पौडेलको कार्यकालमा र उनको नेतृत्वमा भारत र नेपालबीच बहुपक्षीय र बृहत्तर सम्बन्ध थप सुदृढ बन्ने कुरामा आफू विश्वस्त रहेको मुर्मुले बताएकी छिन् ।

Published : Monday, 2023 March 13, 8:35 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया