हिन्दु दलितमाथि ठूलो भेदभाव, अलौंमा सडक आन्दोलनमा उत्रिए दलितहरू

वीरगञ्ज । जातीय विभेद गरेको भन्दै पर्साका दलितहरूले प्रदर्शन गरेका छन् ।

वीरगञ्ज महानगरपालिका– १७ अलौंमा झण्डै दुई दशकपछि हुन लागेको शतचण्डी महायज्ञमा प्रवेश गर्न नदिने भएपछि दलितहरू आन्दोलित भएका हुन् । चैत ८ गतेदेखि शतचण्डी हुने महायज्ञ दलितलाई प्रवेश गर्न नदिने भएपछि उनीहरू आन्दोलित भएका हुन् ।

महायज्ञ आयोजक समितिले नै जातीय छुवाछुतको विभेद गरेर महायज्ञमा प्रवेश गर्न नदिने जनाएको छ । अलौंका दलितहरूले सोमबार वीरगञ्जको बजारमा आएर विरोध प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा सहभागीहरूले ‘हिन्दूद्वारा हिन्दूमाथि विभेद गर्न पाइँदैन, हिन्दूको शोषण हिन्दूले नै गर्न पाइँदैन, हिन्दू एकता जिन्दावाद, दलित एकता जिन्दावाद, दलित समुदायसँग अत्याचार गर्नेलाई कारबाही गर’ भन्ने जस्ता नारा नाराबाजी पनि लगाएका छन् ।

महायज्ञमा प्रवेश गर्न पाउनु पर्ने र छुवाछुतको विभेद गर्नेहरूलाई कारबाही गर्नुपर्ने माग राख्दै उनीहरूले जिल्ला प्रशासन कार्यालयमा पुगेर सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेललाई ज्ञापन–पत्र पनि बुझाएका छन् ।

अलौंका दलितहरूको माग र आन्दोलनप्रति हिन्दू परिषद् नेपालले पनि ऐक्यबद्धता जनाएको छ । मन्दिरमा र पूजामा बस्न पाउने सबैको अधिकार भएकाले यसबाट कसैलाई वञ्चित नगर्नका लागि हिन्दू परिषद् नेपाले जनाएको छ ।

Published : Monday, 2023 March 13, 7:55 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया