साना लगानीका मिडियाका समस्याप्रति पत्रकार महासंघ चिन्तित, पत्रकारहरूको तबललाई लिएर आन्दोलन गर्ने

काठमाडौं । नेपाल पत्रकार महासंघले साना लगानी तथा स्वरोजगारमुलक मिडियाहरू धरासायी हुने अवस्थामा रहेको भन्दै चिन्ता जनाएको छ ।

सोमबार काठमाडौंमा बसेको केन्द्रीय कार्यसमितिको बैठकपछि जारी विज्ञप्तिमा साना लगानीका मिडियाहरूलाई
साना लगानी तथा स्वरोजगारमूलक मिडियालाई समानुपातिक रुपमा विज्ञापन वितरण गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘मिडियाहरू धरासायी हुँदै गएको सन्दर्भमा समानुपातिक विज्ञापन वितरण प्रणालीलाई तत्काल लागू गर्न बैठक सरकारको ध्यानाकर्षण गराउँदछ ।’

महासंघले हाल विभिन्न सञ्चार प्रतिष्ठानमा देखिएको श्रमजीवी पत्रकारका समस्याका विषयलाई गम्भीर रूपमा लिई त्यसको समाधानका लागि कानूनी तथा दबाबमूलक संघर्षको कार्यक्रमलाई अगाडि बढाउने निर्णय गरेको छ ।

‘तत्काल पत्रकारको न्यूनतम पारिश्रमिक समयसापेक्ष वृद्धि गर्न सरकारसँग माग गर्दछ’, महासंघका अध्यक्ष विपुल पोखरेलले भनेका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘हाल सञ्चारसम्बन्धी विभिन्न कानुनहरू निर्माण हुने क्रममा रहेकोप्रति बैठकले गम्भीर चासो लिई उक्त कानुनहरू प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामैत्री निर्माण गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।’

‘सर्वोच्च अदालतले अधिकार सम्पन्न छुट्टै प्रेस रजिष्ट्रार नियुक्ति गर्न आदेश दिइसकेको सन्दर्भमा बैठकले तत्काल छुट्टै प्रेस रजिष्ट्रारको कार्यालय गठन गरी प्रेस रजिष्ट्रार नियुक्ति गर्न सरकारको ध्यानाकर्षण गराएको छ’, महासंघले भनेको छ ।

महासंघले चैत १६ गते महासंघको ६८औं स्थापना दिवसलाई ‘विश्व शान्तिको मुहान’ लुम्बिनीमा विशेष कार्यक्रम गरी मनाउने निर्णय गरेको छ ।

उक्त दिन प्रदेश समिति र जिल्ला शाखामा पनि अनुकूलताअनुसार विभिन्न रचनात्मक तथा अतिरिक्त क्रियाकलापको आयोजना गरी स्थापना दिवस मनाउन आग्रह गरेको अध्यक्ष पोखरेलले बताएका छन् ।

महासंघको सदस्यता शुद्धीकरण, सञ्चार क्षेत्रको सबलीकरणका लागि चैत १७ लुम्बिनीमा ‘राष्ट्रिय मिडिया सम्मेलन’ गर्ने निर्णय पनि गरेको छ ।

सम्मेलनमा सञ्चार क्षेत्रका विज्ञ, अर्थविद, मिडियाको समग्र अनुसन्धानको क्षेत्रमा क्रियाशील, महासंघका पूर्वअध्यक्ष, सल्लाहकार, केन्द्रीय समिति, प्रदेश समितिका अध्यक्ष, महासचिव तथा शाखा समितिका अध्यक्ष सहभागी हुने महासचिव रोशन पुरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

Published : Monday, 2023 March 13, 6:55 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया