सहकारीमा १२ करोड ठगी, क्षेत्रीय प्रबन्धकसहित ३ जना पक्राउ

काठमाडौं । प्रहरीले क्षेत्रीय प्रबन्धकसहित ३ जनालाई सहकारीमा ठगी गरेको अभियोगमा पक्राउ गरेको छ ।

मोरङको विराटनगर महानगरपालिका–२ स्थित तुलसी (बहुमुखी) बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडबाट रकम ठगी भएको घटनामा संलग्न उक्त सहकारी संस्थाका क्षेत्रीय प्रबन्धकसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको प्रहरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

पक्राउ पर्नेहरूमा क्षेत्रीय प्रबन्धक विराटनगर महानगरपालिका–२ बस्ने मन्दीप खवास, संस्थाका उपाध्यक्ष उर्लाबारी नगरपालिका–६ घर भएकी अनिता गौतम र संस्थाको सचिव झापाको भद्रपुर नगरपालिका–१४ घर भई हाल विराटनगर महानगरपालिका–३ बस्ने सविना न्यौपाने रहेका छन् ।

बिक्रम संवत् २०५२ सालमा स्थापना भएको उक्त संस्थाको मुख्य कार्यालय विराटनगर महानगरपालिका–२ मा रहेको र यही फागुन १ गतेदेखि सेयर सदस्यहरूलाई कुनै जानकारी नदिई कार्यालय बन्द गरी ठगी गरेको भनि सेयर सदस्यहरूले दिएको जाहेरीको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो ।

उक्त संस्थाले बाल बचत/ज्येष्ठ नागरिक बचत/भविष्य सुनिश्चित बचत/सुपर पेन्सन बचत/अवधि बचत/कर्मचारी चल्ती बचत/विशेष बचत/साधारण बचत लगायत खाताहरूमा बचत गर्दा तथा संस्थाको शेयर सदस्य हुँदा १५ प्रतिशत भन्दा बढी व्याज, बोनस लगायतका आकर्षक आर्थिक सुविधा पाउने आश्वासन र प्रलोभनमा पारी बचत गर्न लगाएको र आफ्नो तथा बालबच्चासहित परिवारका अन्य सदस्यहरूको सुरक्षित भविष्यको आशामा बचतकर्ताहरूले ठूलो रकम बचत गर्दै आएकोमा फागुन १ गतेदेखि कार्यालय बन्द गरी सञ्चालक समितिका सबै पदाधिकारीहरू सम्पर्क विहीन भएका थिए ।

सञ्चालकहरू नै फरार भए पश्चात आफूहरू ठगीमा परेको थाहा पाई फागुन २८ गते केही बचत कर्ताहरूले १२ करोड ९ लाख ४ हजार ४ सय ८७ रूपियाँ बराबरको रकम ठगी भएको भनि संस्थामा कार्यरत ८ जनाबिरुद्धमा जाहेरी दिएको र सोही जाहेरीको आधारमा ३ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

घटनामा संलग्न अन्य ५ जनाको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीबाट थप अनुसन्धान भइरहेको छ ।

Published : Monday, 2023 March 13, 6:11 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया