कारबाही सिफारसमा परेपछि तनाबमा डीएसपी केसी

काठमाडौं । नेपाल प्रहरीका नायव उपरीक्षक (डीएसपी) ठगबहादुर केसीलाई कारबाही सिफारिस भएको छ ।

डीएसपी केसी ३५ तोला सुनसहित पक्राउ परेका थिए । केसी तत्कालीन समयमा इलाका प्रहरी कार्यालय बुटवलको प्रमुख थिए ।

आइतबार नेपाल प्रहरीका आईजीपी धिरजप्रताप सिंहलाई छानबिन समितिका संयोजक एसएसपी चन्द्रकुबेर खापुङले प्रतिवेदन बुझाएका छन् । प्रतिवेदनमा डीएसपी केसीको गल्ती औँल्याउँदै कारबाहीको सिफारिस गरिएको छ ।

पुस ११ गते केन्द्रीय अनुसन्धान व्यूरो (सीआइबी)को टोलीले डीएसपी केसीको निवासबाट स्रोत नखुलेको ३५ तोला सुन बरामद गरेको थियो ।

सुन बरामद गर्दा प्रक्रिया पूरा नगरेको र बदनीयत राखेको छानबिन समितिको निष्कर्ष छ । डीएसपी केसीले बुटवलको एउटा सुन पसलबाट तस्करीको आरोपमा ३५ तोला सुन बरामद गरेका थिए ।

अवैध भएको पुष्टि भए राजस्व कार्यालय वा मातहत कार्यालय बुझाउनुपर्ने थियो । सुन बैध देखिए सम्बन्धित व्यक्तिलाई बुझाउनुपर्नेमा डीएसपी केसीले आफैँसँग राखेका थिए ।

डीएसपी केसी हाल निलम्बनमा छन् । केसीलाई कानूनअनुसार कारबाही गर्न छानबिन समितिले सिफारिस गरेको छ । डीएसपी केसीमाथि ३५ तोला सुन काण्डमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि छानबिन गरिरहेको छ ।

डीएसपी केसीको जागिर समेत जान सक्छ । उनका हर्कतले बुटवलका जनता निकै आतंकित थिए ।

Published : Sunday, 2023 March 12, 11:22 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया