बस दुर्घटनाका घाइतेको उद्धारमा हेलिकप्टरसहित आफै खटिए रामहरि, दुर्घटनामा काे-काे परे ?

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभाका सांसद रामहरि खतिवडाले सिन्धुलीमा बस दुर्घटनामा परेका घाइतेहरूको उपचारका लागि उद्धार कार्यमा ठूलो सहयोग गरेका छन् ।

खतिवडाले घाइतेहरूलाई उद्धार गर्न नेपाली सेनाको हेलिकप्टर व्यवस्थापन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलका साथै नेपाली सेनासँग समन्वय गरेर दुर्घटनास्थलमा हेलिकप्टर पठाइदिएका थिए ।

खतिवडा आफै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हेलिकप्टर अवतरण गर्ने स्थानमा पुगेर घाइतेलाई एम्बुलेन्ससम्म पुर्‍याउन सहयोग गरेका छन् । उनले घाइतेहरूको उपचारमा कमी नहोस् भनेर आफै अस्पतालमा पुगेर जानकारी लिएका छन् ।

खतिवडाका अनुसार १६ जना घाइतेको ललितपुरस्थित बीएण्डबी अस्पतालमा उपचा भइरहेको छ । केही घाइतेको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । ५ जनाको नेपाली सेना, ४ जनाको नेपाल प्रहरी अस्पतालमा उपचा भइरहेको छ ।

हेलिकप्टरमार्फत १४ जना र एम्बसलेन्सबाट १५ जनाको उद्धार गरिएको थियो । आर्थिक रुपले कमजोर रहेका घाइतेका लागि खतिवडाले सरकारलाई उपचार खर्च व्यवस्थापन गर्न अनुरोध गरेको बताएका छन् ।

खतिवडाले केही सामान्य घाइतेहरूको उपचारका लागि तत्कालका लागि सामान्य उपचार सुरु गराउन आफैले खर्चको व्यवस्था गरेका छन् ।

दुर्घटनामा दुध खाने नाबालक समेत घाइते रहेको बताएका खतिवडाले उपचारमा विशेष ध्यान दिन चिकित्सकहरूसँग आग्रह गरेका छन् ।

ओखलढुङ्गाको रुम्जाटारबाट काठमाडौंतर्फ आउँदै गरेको यात्रुबाहक बस दुर्घटना हुँदा ६ जानको मृत्यु भएको थियो । दुर्घटनामा २९ जना घाइते भएका थिए ।

आइतबार करिव ९ः१५ बजे सिन्धुलीको फिक्कल गाउँपालिका– ४ कुईभिरस्थित मध्यपहाडी लोकमार्गमा बा.२.ख ६५९६ नम्बरको बस दुर्घटनामा परेको थियो ।

दुर्घटनामा मृत्यु हुनेहरू ओखलढुङ्गाको मानेभञ्याङ गाउँपालिका– ६ का २४ वर्षीय (सह–चालक) देवबहादुर सार्की, सिद्धिचरण नगरपालिका–२ ठूलाछापका २९ वर्षीय पेशल भुजेल, सिद्धिचरण नगरपालिका–५ का ३१ वर्षीया जोश्ना राई, सोही ठाउँकी २९ वर्षीया राधा भुजेल, चिशंखुगढी गाउँपालिका–४ का २६ वर्षीय सञ्जित राई र उदयपुर–२ कटारीकी ३५ वर्षीया कुमारी क्याप्छाकी रहेको ट्राफिक प्रहरी कार्यालय सिन्धुलीका ईञ्चार्ज जेजंग कार्कीले जानकारी दिएका छन् ।

घाइतेमध्य पाँच जनाको अवस्था गम्भीर रहेको छ । बसमा ३६ यात्रु सवार रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

बसका चालक काभ्रेको पाँचखाल नगरपालिका– १ बस्ने ४५ वर्षीय लालबहादुर तामाङको अवस्था सामान्य रहेको छ । बस तीब्र गतिका कारण ब्रेक फेल भएर अनियन्त्रित हुँदा दुर्घटना भएको प्रहरीको प्रारम्भीक अनुमान छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक चिरञ्जीवी दाहालले घाइतेमध्य २५ जनाको सनाखत भइसकेको बताएका छन् । उनले ३ जनाको सनाखत हुन बाँकी रहेको बताएका छन् ।

दुर्घटनाका घाइतेहरूमा चालक लालबहादुर तामाङ, तेजकुमार श्रेष्ठ, खेमप्रसाद दाहाल, पुकार राई, अर्पणा राई, शान्ता सेन्चुरी, भानुलक्ष्मी गिरी, राजकिशोर महाराज चमार, राजेश राना, लोकबहादुर बिश्वकर्मा, निरु चौधरी, एकबहादुर राई रहेका छन् ।

एकराज तामाङ, ज्योति प्रजापति, महेश श्रेष्ठ, शारदा श्रेष्ठ, धु्रब भुजेल, दीपाशेर राई, भुपेन्द्र धमला, ढुंण्डीराज सुनुवार, एलिसा गिरी, प्रदीप सुवेदी, दीविका राई पनि घाइते भएका छन् ।

मिलन राई, लेखबहादुर भुजेल, श्रीदेवी राई, राजन बस्नेत पनि घाइते भएका छन् । तीन जना घाइतेको नाम खुलेको छैन ।

Published : Sunday, 2023 March 12, 10:48 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया