रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा शोभासहित ३ जनाको मृत्यु

काठमाडौं । रुपन्देही जिल्लामा भएका दुई वटा दुर्घटनामा तीन जनाको मृत्यु भएको छ ।

शुद्धोधन गाउँपालिका–३ बेताहानीस्थित सडकमा बा.३ ख १९७७ नम्बरको मिनी ट्रक र लु.६१ प ५२१६ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना भएको छ ।

शुक्रबार राति भएको दुर्घटनामा मोटरसाइकलमा सवार सोही गाउँपालिका–३ रम्मापुर बस्ने ३६ वर्षीय लालबहादुर चौधरी र ३५ वर्षीय पिताम्बर चौधरीको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको क्रिमसन अस्पताल मणिग्राममा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैगरी, बुटवल उप–महानगरपालिका–१२ स्थित सडकमा लु.७७ प १९१४ नम्बरको मोटरसाइकल र लु. ७ प ८०३ नम्बरको मोटरसाइकल शुक्रबार राति एकआपसमा ठोक्किएर दुर्घटना भएको छ ।

ठोक्किएको लु.७ प ८०३ नम्बरको मोटरसाइकल पुनः लु २ त ८१९९ नम्बरको ट्याक्टरमा ठोक्किएर दुर्घटना हुँदा लु.७ प ८०३ नम्बरको मोटरसाइकलमा सवार अर्घाखाँची घर भई हाल बुटवल उप–महानगरपालिका–६ बस्ने ३० वर्षीया शोभा आचार्यको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएकी उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका दुवै मोटरसाइकलमा सवार ४ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

तीन वटै सवारी साधन र ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

Published : Saturday, 2023 March 11, 9:27 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया