त्रि-चन्द्र कलेज अगाडि बिहानै मोटरसाइकल दुर्घटना, एकजाको मृत्यु

काठमाडौं । काठमाडौंस्थित त्रि–चन्द्र कलेज अगाडि सडकमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

काठमाडौं महानगरपालिका–२८ स्थित त्रि–चन्द्र कलेज अगाडि सडकमा बा.६५ प ५६०८ नम्बरको मोटरसाइकल शुक्रबार बिहान दुर्घटना हुँदा भोजपुरको षडानन्द नगरपालिका–११ घर भएका २२ वर्षीय सुजल हातुहाङ राईको मृत्यु भएको छ ।

मोटरसाइकल दुर्घटनामा परेर गम्भीर घाइते भएका राईको शुक्रबार बिहान मृत्यु भएको प्रहरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । उक्त मोटरसाइकलले पैदयात्रीलाई ठक्कर दिँदा दुर्घटना भएको थियो ।

गम्भीर घाइते भएका मोटरसाइकल चालक राईको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका पैदलयात्रीको सोही अस्पतालमा उपचार भइरहेको छ ।

उता, सल्यानको त्रिवेणी गाउँपालिका–६ शंखमुल चोकस्थित सडकमा लु.२ ख १२२२ नम्बरको बसले रा.५ प ३०४८ नम्बरको मोटरसाइकललाई बिहीबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक छत्रेश्री गाउँपालिका–३ पाल्लेखोला बस्ने १९ वर्षीय अजय ओलीको मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल सल्यानमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सर्लाहीको हरिवन नगरपालिका–५ स्थित सडकमा ना.६ त ८४४ नम्बरको ट्याक्टरको ठक्करबाट साइकलयात्री सोही ठाउँ बस्ने सिंहेश्वर शर्माका छोरा १२ वर्षीय ओमशंकर शर्माको बिहीबार दिउँसो घटनास्थलमै मृत्यु भएको छ । हाल फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ ।

सिरहाको बरियारपट्टी गाउँपालिका–३ स्थित सडकमा प्र.२–०१–००१ प ००५२ नम्बरको मोटरसाइकल सोही ठाउँस्थित त्रिशुला खोलाको पुलबाट करिब ५० फिट तल खसेर बिहीबार राति दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेहरूमा मोटरसाइकलमा सवार सिरहा नगरपालिका–१८ बस्ने ४४ वर्षीय सरुन यादव र सोही ठाउँ बस्ने ४२ वर्षीय नथुन यादव रहेका छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको प्रादेशिक अस्पताल सिरहामा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Published : Friday, 2023 March 10, 12:05 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया