जहाज उड्दा उड्दै बिग्रिएको बारे यस्तो आयो श्री एयरलाईन्सको जवाफ

काठमाडौं । श्री एयरलाईन्सले आफ्नो जहाज काठमाडौंबाट भैरहवा उडान भर्ने क्रममा दाहिने ईञ्जिनमा फायर इन्डिकेसन देखिएको जनाएको छ ।

श्री एयरलाईन्सले बिहीबार साँझ विज्ञप्ति जारी गरेर समस्या देखिएपछि जहाजलाई सकुशल अवतरण गराएको जनाएको छ ।

‘मिति २०७९–११–२५ गते बिहानको ०९ः३९ बजेको काठमाडौंबाट भैरहवा उडान भर्ने क्रममा यस एयरलाईन्सको डीएएसएच आठ क्यू ४००, ९एन–एएनआर विमानको दाहिने ईञ्जिनमा फायर इन्डिकेसन देखिसकेपछि चालकहरूले फ्लाईट म्यानुअल मा उल्लेखित निर्देशनहरूको पालना गर्दै नेपाल नागरिक उड्डयन प्राधिकरणद्वारा आईएफआर (कम भिजिविलिटी) निर्देशित उचाइँको मापदण्डलाई पूर्ण पालना गरि १०मिटनमा सुरक्षित अवतरण गरिएको थियो’, विज्ञप्तिमा भनिएको छ ।

‘विमानमा जडित दुई थान शक्तिशाली पीडब्लु १५० ए ईञ्जिनहरू जडित छ’, श्री एयरलाईन्सले भनेको छ, ‘कुनै पनि कारणबाट एउटा ईञ्जिन सञ्चालन नभएको अवस्था आएमा एउटा ईञ्जिनको पावरको मात्र पनि १७,५०० फिट उचाइँ हासिल गर्न सक्ने कुरा जानकारी गराउन चाहन्छौँ ।’

विज्ञप्तिमा भनिएको छ, ‘सबै डाँडाहरू कटाई काठमाडौंमा कम भिजिविलिटी भएको बेला आईएफआर अन्तर्गत नै सफल अवतरण गरियो ।’

‘ईञ्जिनको जाँच प्राविधिकहरूमार्फत गराइ आवश्यक मर्मत सम्भार गरिनेछ’, श्री एयरलाईन्सले भनेको छ, ‘यस विमानमा यात्रा गरिरहेको यात्रुहरूलाई तुरुन्तै यसै एयरलाईन्सको अर्को विमानद्वारा काठमाडौंबाट भैरहवा पठाइएको थियो ।’

श्री एयरलाईन्सको जहाज काठमाडौंबाट भैरहवा उडान भरेका बेला ईञ्जिनमा आगो लागेको भनेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आकस्मिक अवतरण गराइएको थियो ।

Published : Thursday, 2023 March 9, 11:28 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया