काठमाडौंमा टिप्परको ठक्करबाट दुई जनाको मृत्यु

काठमाडौं । काठमाडौंमा टिप्परको ठक्करबाट दुई जनाको मृत्यु भएको छ ।

शंखरापुर नगरपालिका–९ ईन्द्रायणीस्थित सडकमा बा.५ ख २४१४ नम्बरको टिप्परले बा.९४ प ४४९८ र बा.८२ प ८३५७ नम्बरको मोटरसाइकललाई बुधबार साँझ ठक्कर दिँदा २ जनाको मृत्यु भएको प्रहरीले विज्ञप्तिमार्फत जनाएको छ ।

मृत्यु हुनेहरूमा बा.९४ प ४४९८ नम्बरको मोटरसाइकल चालक सोही नगरपालिका–७ साँखु घर भएका ५० वर्षीय पवनलाल श्रेष्ठ र बा.८२ प ८३५७ नम्बरको मोटरसाइकल चालक सोही नगरपालिका–९ बस्ने २२ वर्षीय हरि खड्का रहेका छन् ।

ठक्करबाट गम्भीर घाइते भएका पवनलालको नेपाल मेडिकल कलेज अत्तरखेलमा र हरिको शंखरापुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ ।

दुर्घटनामा घाइते भएकी बा.९४ प ४४९८ नम्बरको मोटरसाइकलमा सवार १ जना महिलाको ग्राण्डी अस्पताल टोखामा उपचार भइरहेको छ । टिप्पर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

उता, कञ्चनपुरको कृष्णपुर नगरपालिका–५ गुलरीया बजारस्थित सडकमा सु.प.प्र.०१००१ च २६२३ नम्बरको बोलेरो जिपले सु.प.प्र.०२००३ प ९८८६ नम्बरको मोटरसाइकललाई बुधबार राति ठक्कर दिँदा मोटरसाइकलमा सवार शुक्लाफाटा नगरपालिका–७ बस्ने २५ वर्षीय मनीष चौधरीको मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो ।

ठक्करबाट घाइते भएका मोटरसाइकलमा सवार चालकसमेत २ जनाको पद्मा अस्पताल अत्तरीयामा उपचार भइरहेको छ । जीप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सप्तरीको राजबिराज नगरपालिका–११ पम्प नहरस्थित सडकमा स. ४ प ३२७५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बुधबार राति दुर्घटना हुँदा चालक तिलाठी कोईलाडी गाउँपालिका–२ लौनिया बस्ने ५० वर्षीय श्याम मण्डलको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको छिन्नमस्ता अस्पताल राजबिराजमा उपचारको क्रममा मृत्यु भएको हो ।

यसैगरी सप्तरी, विष्णुपुर गाउँपालिका–१ जमुनीस्थित सडकमा ना.३ स ९६३० नम्बरको अटो अनियन्त्रित भई बुधबार दिउँसो दुर्घटना हुँदा अटोमा सवार खडक नगरपालिका–८ बिसनपुर बस्ने ४० वर्षीया आमना खातुनको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएकी उनको गजेन्द्र नारायण सिंह अस्पताल राजबिराजमा उपचारको क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा परी घाइते भएका अटोमा सवार अन्य १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । अटो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

महोत्तरीको औरही नगरपालिका–१ स्थित सडकमा ‘अन टेस्ट’ मोटरसाइकलको ठक्करबाट साईकलयात्री गौशाला नगरपालिका–१० भरतपुर बस्ने ४५ वर्षीया राजकुमारी मुखियाको बुधबार साँझ मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको न्यूरो अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका साइकल तथा मोटरसाइकलमा सवार २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । फरार मोटरइकलमा सवार १ जनाको प्रहरीले खोजी गरिरहेको छ ।

रोल्पाको त्रिवेणी गाउँपालिका–२ दहबनमा रा.१ त १७२५ नम्बरको ट्याक्टर सडकबाट करिब १५ मिटर तल खसेर बुधबार राति दुर्घटना हुँदा ट्याक्टरमा सवार सल्यान कुमाक गाउँपालिका–६ बस्ने ३२ वर्षीय टोपलाल बिकको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही दाङमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा परी घाइते भएका ट्याक्टरमा सवार ७ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

धनुषाको सबैला नगरपालिका–१२ बरकुर्वास्थित सडकमा स.३ प १६४३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बुधबार राति दुर्घटना हुँदा चालक गणेशमान चारनाथ नगरपालिका–३ बस्ने ४० वर्षीय जगदिश सदाको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा परी घाइते भएका मोटरसाइकलमा सवार अन्य १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

पर्साको वीरगंज महानगरपालिका–१४ गण्डक चोकस्थित सडकमा प्रदेश २–०३–००४ प ७९३० नम्बरको मोटरसाइकल र ना.२५ प ४००३ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएर बुधबार राति दुर्घटना हुँदा प्र.२–०३–००४ प ७९३० नम्बरको मोटरसाइकल चालक बारा परवानीपुर गाउँपालिका–४ चैनपुर बस्ने २६ वर्षीय सुरज सराफको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको एल.एस.न्यूरो अस्पताल बारामा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका ना.२५ प ४००३ नम्बरको मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ ।

कैलालीको धनगढी उप–महानगरपालिका–३ मिलनचोकस्थित सडकमा से.१ ह २६३९ नम्बरको अटो अनियन्त्रित भई बिहीबार बिहान दुर्घटना हुँदा अटोमा सवार गौरीगंगा नगरपालिका–४ बस्ने ८५ वर्षीय तिलानन्द जोशीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको माया मेट्रो अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो । अटो र अटो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Published : Thursday, 2023 March 9, 10:20 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया