पौडेल राष्ट्रपतिमा निर्वाचित भएकै दिन उप–राष्ट्रपतिका उम्मेदवारको टुंगो लाग्यो

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा)ले रामसहायप्रसाद यादवलाई उप–राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ ।

बिहीबार ललितपुरको बालकुमारीमा बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले यादवलाई उप–राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको हो । यादव जसपाको संसदीय दलका नेता हुन् ।

यादव बारा क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद हुन् । आठ दलीय राजनीतिक संयन्त्रले नेपाली कांग्रेसलाई राष्ट्रपति र जसपालाई उप–राष्ट्रपति दिने समझदारी गरेका थिए ।

कांग्रेसका तर्फबाट सिफारिस भएका रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भइसकेका छन् । निर्वाचन आयोगका अनुसार उप–राष्ट्रपति पदको उम्मेदवारमा फागुन २७ गते मनोनयन छ । उप–राष्ट्रपतिको चैत ३ गते निर्वाचनको कार्यतालिका रहेको छ ।

बारामा रिक्त हुने क्षेत्र नं. २ बाट जसपाका अध्यक्ष उपेन्द्र यादव उम्मेदवार बन्ने तयारीमा छन् । उपेन्द्र सप्तरीबाट प्रतिनिधि सभा निर्वाचनमा पराजित भएका थिए । पराजित भएका उपेन्द्र प्रतिनिधि सभामा छिर्न निकै जोडबल गरेका छन् ।

Published : Thursday, 2023 March 9, 8:58 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया