कांग्रेसका विनोद चौधरीले आफ्नै खर्चमा बनाइदिए बर्थिङ सेन्टर, सुस्ताका हजारौं आमाहरूले सेवा पाउने

नवलपरासी । ‘चौधरी फाउण्डेसन’को सहयोगमा नवलपरासीको पकलीहवास्थित स्वास्थ्य केन्द्रमा सुविधासहितको बर्थिङ सेन्टर सञ्चालनमा आउने भएको छ ।

बुधबार फाउण्डेसन र सुस्ता गाउँपालिकाबीच पकलीहवा स्वास्थ्य केन्द्रको स्तरोन्नति तथा स्वास्थ्य उपकरण हस्तान्तरण सम्बन्धि सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

सुस्ता गाउँपालिकामा आयोजित कार्यक्रममा फाउण्डेसनकी सचिव सारिका चौधरी र गाउँपालिकाका तर्फबाट अध्यक्ष टेकनारायण उपाध्यायले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

बर्थिङ सेन्टरसञ्चालनमा आएपछि जिल्लाको ग्रामीण क्षेत्रका गर्भवती महिलाहरूले सहज रुपमा गुणस्तरीय सेवा पाउने सुस्तागाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बुद्धप्रकाश पौडेलले बताएका छन् ।

फाउण्डेसनले नवलपरासीमा लामो समयदेखि विभिन्न सामाजिक कार्यमा सहयोग पुर्‍याउँदै आएको र आगामी दिनमा पनि यस्ता कार्यलाई निरन्तरता दिने चौधरी फाउण्डेसनकी सचिव सारिका चौधरीले बताएकी छिन् ।

‘बर्थिङ सेन्टर सेवा सञ्चालनमा आएपछि स्थानीय महिला र बालबालिकाको स्वास्थ्य सेवामा सहज पहुँच पुग्ने हाम्रो विश्वास छ’, उनले भनेकी छिन् ।

सुस्ता गाउँपालिकाअन्तर्गत वडा नं. ५ मा रहेको स्वास्थ्य केन्द्रमा बर्थिङ सेन्टर सेवा सञ्चालनमा आउने भएको हो ।

प्रदेश सभा सदस्य देवकरणप्रसाद कलवार सन्तुले सुस्ता गाउँपालिकाको सबैभन्दा विकट क्षेत्र मानिने पकलीहवा क्षेत्रका महिलाहरूको अब स्वास्थ्य सेवामा सहज पहुँच हुने विश्वास व्यक्त गरेका छन् ।

नवलपरासी १ बाट निर्वाचित नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका प्रतिनिधि सभाका सांसद विनोद चौधरीको सक्रियतामा बर्थिङ सेन्टर सेवा सञ्चालनमा आएको छ । उनले निर्वाचनमा प्रत्येक नागरिकले गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने प्रतिवद्धता जनाएका थिए ।

सम्झौताअनुसार फाउण्डेसनले स्वास्थ्य केन्द्रका लागि एक जना एमबीबीएस चिकित्सक, एक जना अनमीको खर्च र आवश्यक स्वास्थ्य उपकरण उपलब्ध गराउनेछ ।

सम्झौताअनुसार गाउँपालिकाले प्रत्येक वडामा नियमित निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्नुपर्नेछ ।

सम्झौता कार्यान्वयनमा आएको मितिदेखि चौधरी फाउण्डेसन र सुस्ता गाउँपालिका दुबै बर्थिङ सेन्टरको स्तरोन्नति र सुदृढीकरणका लागि संयुक्त रुपमा काम गर्नेछन् ।

Published : Wednesday, 2023 March 8, 4:05 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया