व्यूरोद्वारा काठमाडौंमा दुई अप्रेशन, अमेरिकाबाट आएका सामानसहित मान्छेहरू पक्राउ

काठमाडौं । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण व्यूरो, कोटेश्वर, काठमाडौंले तीन जनालाई ६.९ किलो अमेरिकाबाट आएको गाँजासहित पक्राउ गरेको छ ।

व्यूरोले १ भारतीय र २ नेपालीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतीय नागरिक निमेश अशोकभाइ दयानी तथा नेपाली नागरिकद्वय फैज आलम र रुपक अर्याल रहेका छन् ।

हवाई मार्ग हुँदै विदेशी मुलुकबाट नेपालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयमा आउने पार्सलहरूको सुक्ष्म निग्रानी तथा चेकजाँच गर्ने क्रममा अमेरिकाबाट दुबई हुँदै नेपाल आएको पार्सलहरूबाट लागुऔषध गाँजा बरामद गरिएको व्यूरोका कार्यालय प्रमुख तथा एसएसपी विकासराज खनालले बताएका छन् ।

पक्राउ परेका व्यक्तिहरूविरुद्ध लागुऔषध (नियन्त्रण) ऐन, २०३३ बमोजिम काठमाडौं जिल्ला अदालतबाट लागुऔषध मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको व्यूरोका प्रवक्ता (एसपी) चक्रराज जोशीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

अप्रेशन नम्वर– १

लागुऔषध गाँजा ४.५ किलो बरामद गरी १ भारतीयसहित २ जना मानिसहरूलाई पक्राउ गरिएको थियो ।

फागुन २१ गते अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयमा युएसए क्यालिफोर्निया स्टेटको एसएञ्जलस शहरबाट दुबई हुँदै काठमाडौं आएको चकलेट एण्ड चाइल्ड गेम आईटम उल्लेख गरिएको पार्सल शंकास्पद देखिएकोले उक्त पार्सल सुक्ष्म रुपमा चेकजाँच गर्ने क्रममा पार्सलभित्र रहेको निमेश अशोकभाइ दयानी र सर्लाहीको हरिपुर नगरपालिका वडा नं. ३ ठेगाना भएका वर्ष २८ का फैज आलमलाई पक्राउ गरिएको छ ।

बट्टाहरूमा लुकाई छिपाई राखेको लागुऔषध गाँजा ४.५ किलो पार्सल बुझी लैजान लागेका भारतको गुजरात, मोती भावदी ठेगाना भएका भारतीय नागरिक वर्ष ३० का निमेश अशोकभाइ दयानी र सर्लाही हरिहरपुर नगरपालिका वडा नं. ३ ठेगाना भएका वर्ष २८ का फैज आलमलाई पक्राउ गरी निजहरूको साथबाट भारतीय आधार कार्ड, नेपाली रुपियाँ ८०,०००।– बरामद गरी उल्लेखित २ जना मानिसहरूलाई पक्राउ गरिएको छ ।

साथै निजहरू बस्दै आएको काठमाडौं महानगरपालिका वडा नं. २६ ठमेलस्थित होटलको कोठा खानतलासी गर्दा होटलको कोठा भित्रबाट भारतीय नागरिक निमेश अशोकभाइ दयानीको नामको राहदानी, भारतीय रुपियाँ १,४०,०००।– समेत फेला पारी बरामद गरिएको छ ।

अप्रेशन नम्वर – २

लागुऔषध गाँजा २.४ किलो बरामद गरी १ जना मानिस पक्राउ गरिएको छ ।

फागुन २१ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयमा अमेरिकाको क्यालिफोर्नियाबाट दुबई हुँदै काठमाडौं आएको होम डेकोर वाटर फाउन्टेन एण्ड चाइल्ड गेम आईटम उल्लेख गरिएको पार्सल शंका लागि चेकजाँच गर्दा उक्त पार्सलभित्र लुकाई छिपाई राखिएको लागुऔषध गाँजा २.४ किलो बरामद गरी उक्त पार्सलमा उल्लेखित रिसिभ गर्ने व्यक्तिको खोजतलास गर्दै जाँदा काठमाडौंको नागार्जुन नगरपालिका– १ खरीबोटस्थित एक रेष्टुरेण्टबाट गोरखाको गण्डकी गाउँपालिका वडा नं. ४ ठेगाना भएका वर्ष २३ का रुपक अर्याललाई पक्राउ गरिएको छ ।

Published : Wednesday, 2023 March 8, 3:44 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया