राष्ट्रपति निर्वाचनपछि कांग्रेस विकास निर्माणमा केन्द्रित हुन्छ : डा.महत

नुवाकोट । नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले राजनीतिले कोल्टे फेरेकोले अहिले ठीक ठाउँमा आएको बताएका छन् ।

मंगलबार नुवाकोटको लिखुमा आयोजित कार्यक्रममा डा.महतले भने, ‘राजनीतिले विस्तारै कोल्टे फेरेको छ ।’

‘अगाडि बढ्नुपर्ने बाटो पछाडि फर्केको थियो’, उनले भने, ‘फेरि फर्केर त्यही ठाउँमा आइपुगेको छ ।’

डा.महतले देशमा राजनीतिक स्थिरता सँगसँगै स्थिर सरकार, राष्ट्रपति र उप–राष्ट्रपतिको निर्वाचन सँगसँगै कांग्रेस विकास निर्माणमा केन्द्रिकृत हुने बताएका छन् ।

कांग्रेसका प्रवक्ता डा.महतले भने, ‘जनताको सेवा सुविधा सुनिश्चित गर्न क्रियाशील हुने छौं ।’

‘त्यसका लागि हामी एकजुट भएर काम गर्नेछौं’, उनले भनेका छन् ।

मंगलबार नुवाकोट खेलकुद विकास समितिद्वारा आयोजित १२औं जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता लिखु गाउँपालिका–४ चौघडामा समापन भएको छ ।

डा.महतले खेलकुद र शिक्षालाई सँगै लक्ष्य बनाएर खेलाडीहरू अगाडि बढनुपर्ने बताएका छन् । उनले अझै गुणस्तरीय शिक्षा र खेलकुद क्षेत्रलाई विकास गर्दै अगाडि बढाउनुपर्ने बताएका छन् ।

डा.महतले त्यसको दायित्व केन्द्रीय, प्रदेश र स्थानीय सरकारको रहेको भएको बताएका छन् । नुवाकोटलाई उत्कृष्ट खेलकुदको रुपमा विकास गरिने उनले आश्वासन दिएका छन् ।

पूर्वमन्त्री समेत रहेका डा.महतले प्रतियोगितामा सहभागी १२ वटा स्थानीय तहका खेलाडीहरूलाई सम्मान गरेका थिए । आइतबारबाट सुरु भएको प्रतियोगितामा एथ्लेटिक्स, भलिबल, कबड्डी, तेक्वान्दो, कराते र उसु खेल खेलाइएको थियो ।

यसैबीच, कांग्रेसका प्रवक्ता डा.महतले नुवाकोटको विकासका लागि पूर्वाधार निर्माणको कामको अनुगमन गरेका छन् ।

शहरी विकास मन्त्रालयका सचिव सुरेश आचार्य, भवन विभागका महानिर्देशक, झोलुङ्गे पूल विभागका महानिर्देशक लगायत अन्य सरकारी निकायका व्यक्तिहरूसंग डा.महतले नुवाकोट क्षेत्र नम्बर १ का विभिन्न ठाउँको स्थलगत अध्ययन गरेका छन् ।

अध्ययनपछि डा.महतले नुवाकोटका विभिन्न स्थानीय तहका प्रमुखहरूसँग जिल्लाको विकासका विषयमा अन्तर्क्रिया गरेका छन् ।

Published : Tuesday, 2023 March 7, 10:01 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया