कोटेश्वरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, महिला घाइते

काठमाडौं । काठमाडौंको कोटेश्वरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

सोमबार राति काठमाडौं महानगरपालिका–३२ कोटेश्वरमा प्रदेश ३–०२–००९ प ७००६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको प्रहरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

दुर्घटनामा मोटरसाइकल चालक भक्तपुरको चाँगुनारायण नगरपालिका–५ ताथली बस्ने ४२ वर्षीय मधुकर बालाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका बालाको काठमाडौं मेडिकल कलेज सिनांमगलमा उपचारको क्रममा मृत्यु भएको थियो । दुर्घटनामा घाइते भएकी मोटरसाइकलमा सवार अन्य १ जना महिलाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

उता, सर्लाहीको बलरा नगरपालिका–२ हथियौलमा एचआर २६ सिएच ९७०६ नम्बरको भारतीय कारको ठक्करबाट सोही ठाउँ बस्ने हरेशर सहनीको छोरी १८ महिनाकी माया कुमारीकोको सोमबार साँझ मृत्यु भएको छ ।

कारको ठक्करबाट गम्भिर घाइते भएकी उनको प्रादेशिक अस्पताल मलंगवामा उपचारको क्रममा मृत्यु भएको छ । कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

उता, धनुषाको मिथिला नगरपालिका–१० लालगढमा प्र.२–०२–००३ प ७७४३ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री हाल नाम, थर, वतन नखुलेका अन्दाजी ५५ पुरुषको सोमबार राति मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको जानकी हेल्थ केयर जनकपुरधाममा उपचार भइरहेको छ ।

Published : Tuesday, 2023 March 7, 9:43 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया