चिसंखुगढीमा बलेरो खस्यो, २ जनाको मृत्यु १२ घाइते

चिसंखुगढी । ओखलढुंगामा बलेरो गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

आइतबार बिहान भएको दुर्घटनामा १२ जना घाइते भएको प्रहरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

चिसंखुगढी गाउँपालिका–३ स्थित भित्री सडकखण्डमा बलेरो गाडी दुर्घटना हुँदा २ जनाको घटना स्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

खानीभञ्याङबाट सदरमुकामतर्फ आउँदै गरेको ना.१ ज ८४८३ नम्बरको बलेरो गाडी अनियन्त्रित भई सडकबाट करिव १०० मिटर तल झरेर दुर्घटना भएको छ ।

चिसंखुगढी–३ का ५२ वर्षीय मीनबहादुर श्रेष्ठ र ७० वर्षीय भक्तबहादुर थापाको घटना स्थलमा मृत्यु भएको छ ।

दुर्घटना स्थलमा पुगेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाको प्रहरी निरीक्षक देवेन्द्र दासको टोलीले गाडीको चालकसहित १० जना घाइतेहरूलाई उद्घार गरी उपचारको लागि अस्पताल पठाएको छ ।

घाइतेहरूलाई सिम्रिक एयरको हेलिकप्टरद्धारा काठमाडौं पठाइएको छ । घाइते २ जनालाई एम्बुलेन्सद्वारा मिसन अस्पताल ओखलढुंगा पठाएको छ । मृतकको शवलाई समेत पोष्टमार्टमको लागि जिल्ला अस्पताल ओखलढुंगा पठाएको छ ।

घाइते हुनेहरूमा चालक चिसंखुगढी–१ का २५ वर्षीय सुमन कार्की, यात्रुहरू चिसंखुगढी–१ का ४० वर्षीय केन्द्रबहादुर कार्की, २२ वर्षीय खेमबहादुर खत्री, चिसंखुगढी–२ कि ५७ वर्षीया तीलकुमारी श्रेष्ठ, १३ वर्षीया आयुशा श्रेष्ठ, चिसंखुगढी–३ कि २६ वर्षीया शर्मिला श्रेष्ठ, उनको ४ वर्षीया छोरी लरिसा श्रेष्ठ रहेका छन् ।

सिद्दिचरण नगरपालिका–१० कि ४० वर्षीया तुलसा धमला उनको २ वर्षीय छोरा विनय धमला र चिसंखुगढी–३ कि ५० वर्षीय तीर्थलक्ष्मी श्रेष्ठ घाइते भएका छन् । उनीहरू सबैलाई उपचारका लागि काठमाडौं लगिएको छ ।

मोलुङ गाउँपालिका–१ कि ३५ वर्षीया जानुका धमला र उनको छोरा ४ वर्षीय कोशिस धमलालाई मिसन अस्पताल ओखलढुंगामा उपचार भइरहेको छ ।

Published : Sunday, 2023 March 5, 2:26 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया