टिप्परको ठक्करबाट मोटरसाइकल दुर्घटना हुँदा मृत्यु

काठमाडौं । मुलुकका विभिन्न स्थानमा भएका अलग अलग सवारी दुर्घटनामा ८ जनाको मृत्यु भएको छ ।

महोत्तरीको लोहारपट्टी नगरपालिका–८ भ्रमरपुरा चोकमा ना.०८ ख २०५४ नम्बरको टिपरले ज.०८ प ६८६० नम्बरको मोटरसाइकललाई शुक्रबार राति ठक्कर दिएको छ ।

ठक्कर दिँदा मोटरसाइकल चालक धनुषाको जनकपुर उप–महानगपालिका–१७ औसरा गाँउ बस्ने २८ वर्षीय धिरेन्द्र पासवानको मृत्यु भएको प्रहरीले जनाएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको छ । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बर्दियाको बासगढी नगरपालिका–८ स्थित सडकमा भे.५ प ५५५५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शुक्रबार साँझ दुर्घटना हुँदा मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेहरूमा सोही नगरपालिका–९ पहाडीपुर बस्ने ३८ वर्षीय शेरबहादुर खडका र ३३ वर्षीया पवित्रा खडका रहेका छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ ।

पर्साको वीरगंज महानगरपालिका–९ सिमखरी चोकमा ना.४२ प १७५९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शुक्रबार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार जगरनाथपुर गाउँपालिका–५ मसिहानी बस्ने ४५ वर्षीय चोकट मुखिया बिनको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएको उनको पोखरिया अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ ।

कैलालीको गोदावरी नगरपालिका–४ खैरानामा से.१ क ४४१ नम्बरको बसको ठक्करबाट पैदलयात्री सोही गाउँपालिका–६ लालपुर बस्ने ६५ वर्षीया बाचु बटै आलेको शनिबार बिहान मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएकी उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्यूठानको माण्डवी गाउँपालिका–५ आपचौरमा लु.२१ प ६२१९ नम्बरको मोटरसाइकल बाटो खन्दै गरेको ना.१ क ३४१६ नम्बरको जेसीबीमा ठोक्किएर शनिबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक ऐरावती गाउँपालिका–२ हरियाटारी बस्ने ५४ वर्षीय गोपाल थापाको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल बिजुवार प्यूठानमा उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा घाइते भएकी मोटरसाइकलमा सवार अन्य १ जना महिलालाई जिल्ला अस्पताल बिजुवार प्यूठान हुँदै थप उपचारको लागि बुटवलतर्फ पठाइएको छ । जेसीबी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बाँकेको जानकी गाउँपालिका–३ मानपुरमा जेएच ०२ एक्यू ११३८ नम्बरको भारतीय ट्रकले भे.१२ प ११३८ नम्बरको मोटरसाइकललाई शनिबार दिउँसो ठक्कर दिँदा मोटरसाइकलमा सवार राप्ती सोनारी गाउँपालिका–८ बस्ने २८ वर्षीया आरती योगीको मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएकी उनको नर्सिङहोम नेपालगंजमा उपचारको क्रममा मृत्यु भएको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

मकवानपुरको हेटौडा उपमहानगरपालिका–१ भैंसेस्थित सडकमा ना.४६ प २३७१ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालक सोही उपमहानगरपालिका–६ चौघडा बस्ने ५० वर्षीय कृष्ण सापकोटाको शनिबार दिउँसो मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको हेटौडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ ।

Published : Saturday, 2023 March 4, 11:34 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया