काठमाडौंको तीन स्थानमा प्रहरी छापा, जुवातास खेलिरहेका ३८ जना मान्छे पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौंका विभिन्न तीन स्थानमा छापामारेर ३८ जना मान्छेहरूलाई पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका–१४ कुलेश्वर गैरीशंकर बस्ने बसन्त सापकोटाको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही महानगरपालिका–१२ टेकु बस्ने ४२ वर्षीया दिलमाया देउलासमेत २३ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।

प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५ लाख ३८ हजार २ सय रुपियाँ र ५ बुक ताससहित फेला पारी पक्राउ गरेको छ ।

यसैगरी, काठमाडौं महानगरपालिका–९ शम्भुमार्ग बस्ने जमुना पौडेलको घरको अण्डर ग्राउण्डमा जुवातास खेलिरहेको अवस्थामा काभ्रे घर भई हाल काठमाडौं महानगरपालिका–७ मित्रपार्क बस्ने ३६ वर्षीय जीतनारायण श्रेष्ठसमेत ६ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४६ हजार रुपियाँ र ३ बुक ताससहित फेला पारी पक्राउ गरेको हो ।

त्यसैगरी, काठमाडौंको चन्द्रागिरी नगरपालिका–१२ बलम्बु बस्ने ५८ वर्षीय पूर्ण महर्जनको घरमा तास खेलिरहेको अवस्थामा महर्जन समेत ९ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी प्रभाग बलम्भुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६७ हजार ९ सय १० रुपियाँसहित फेला पारी पक्राउ गरेको हो । जुवातास खेलेको सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Published : Thursday, 2023 March 2, 11:34 am

फेसबुकबाट तपाईको प्रतिक्रिया