बदमास चाइनिज नागरिकलाई सीआईबीद्वारा पक्राउ, काठमाडौं र ललितपुरमा निच कार्य

काठमाडौं । ललितपुरमा प्रहरीले बाल यौन शोषण कार्यमा संलग्न रहेको अभियोगमा चिनियाँ नागरिकलाई पक्राउ गरेको छ ।

चिनियाँ नागरिक ४९ वर्षीय याङ लि मिङलाई शनिबार प्रहरीले पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।

ललितपुर महानगरपालिका–२२ वुंगमतीस्थित कोका न्यू प्युरी एण्ड म्याट्रेस कम्पनी संचालन गरी बस्दै आएका मिङले फेसबुकमार्फत नाबालिकाहरूसँग चिनजान गरी साथी बनाउने गरेका थिए ।

साथी बनाएपछि काठमाडौं बोलाई बिभिन्न मनोरञ्जनात्मक गतिबिधिहरूमा संलग्न गराउनुका साथै आर्थिक प्रलोभन देखाई यौन शोषण गर्ने गरेको अभियोगमा पक्राउ गरेको प्रहरीले जनाएको छ ।

विशेष सूचनाको आधारमा केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले मिङलाई ललितपुर महानगरपालिका–२२ वुंगमतीबाट पक्राउ गरेको हो ।

मिङले १४ देखि १७ वर्षका ६ जना नाबालिकहरूमध्ये २ जनालाई बुङमतीस्थित आफ्नै अपार्टमेन्टमा लगेर यौन शोषण गरिसकेको प्रहरीले जनाएको छ ।

अन्य ४ जना बालिकाहरूलाई ठमेलस्थित होटलमा ललाईफकाई राखिएको अवस्थामा प्रहरीले ती बालिकाहरूको उद्वार गरेको छ ।

चिनियाँ नागरिक मिङ उपर जबरजस्ती करणी शीर्षक मुद्दामा जिल्ला अदालतबाट ३ दिनको म्याद अनुमति लिई प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।

Published : Monday, 2023 February 27, 10:05 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया