भारतले बनाइदियो काठमाडौंमा मदन भण्डारी कलेजको भवन

काठमाडौं । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारको आर्थिक सहयोगमा काठमाडौंस्थित मदन भण्डारी स्मृति कलेजका लागि निर्मित कलेज भवनको सोमबार कलेज व्यवस्थापन समितिलाई हस्तान्तरण गरेका छन् ।

हस्तान्तरण समारोहमा नेपाल सरकारका पूर्व परराष्ट्रमन्त्री एवम् कलेज व्यवस्थापन समितिका अध्यक्ष महेन्द्रबहादुर पाण्डे, मदन भण्डारी फाउण्डेसनकी अध्यक्ष श्रीमती उषाकिरण भण्डारी र काठमाडौं जिल्ला समन्वय समितिका अध्यक्ष सन्तोष बुढाथोकीको उपस्थिति थियो ।

‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत कलेज भवनको निर्माण उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रुपमा कूल नेरु २.८६४ करोडको लागतमा भएको भारतीय राजदूतावासबाट जारी विज्ञप्तिमा उल्लेख छ ।

स्थापनाकालदेखि नै कलेजले गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेजमा देशका विभिन्न जिल्लाका १५०० भन्दा बढी विद्यार्थी अध्ययनरत छन् । कलेजले विभिन्न विषयमा अध्यापन गराउँदै आएको छ ।

सन् २००३ यता भारतले नेपालमा ५३५ भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजना सञ्चालन गरेकोमा ४७८ वटा परियोजना सम्पन्न भइसकेका छन् ।

तीमध्ये काठमाडौं जिल्लाका ४० वटा परियोजना समेत गरी बागमती प्रदेशमा १०४ वटा परियोजना रहेका छन् ।

यस बाहेक यस कलेजलाई प्रदान गरिएको एक स्कुल बससहित भारत सरकारले हालसम्म काठमाडौंका विभिन्न अस्पताल, स्वास्थ्य चौकी एवम् शैक्षिक संस्थालाई ६८ वटा एम्बुलेन्स र ४६ वटा स्कुल बस उपहार स्वरुप प्रदान गरेको छ ।

परियोजनाको कार्यान्वयनले शैक्षिक पूर्वाधारको निर्माणमार्फत नेपाली जनताको उत्थानका लागि नेपाल सरकारले चालेका प्रयासमा भारत सरकारले पु¥याउँदै आएको निरन्तर सहयोगलाई प्रतिबिम्बित गर्ने विज्ञप्तिमा उल्लेख छ ।

Published : Monday, 2023 February 27, 9:12 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया