तनाबले आगो बनेको एमालेले कांग्रेससँग वार्ता नगर्ने, सरकारबारे स्पष्ट बोलेन

काठमाडौं । एमालेले नेपाली कांग्रेससँग वार्ता नगर्ने निर्णय गरेको छ ।

शनिबार पार्टी केन्द्रीय कार्यालय बालकुमारी, ललितपुरमा बसेको सचिवालय बैठकले कांग्रेससँग राष्ट्रपतिको निर्वाचनका बारेमा वार्ता नगर्ने निर्णय गरेको हो ।

एमालेले आफ्नो पक्षमा बहुमत जुटाउन कांग्रेसबाहेक सबै दलसँग संवाद गर्ने निर्णय गरेको उप–महासचिव पृथ्बीसुब्बा गुरुङले बताएका छन् ।

एमालेले राष्ट्रपतिको उम्मेदवारमा उपाध्यक्ष सुवास नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । नेम्वाङ इलामबाट प्रतिनिधि सभामा निर्वाचित सांसद पनि हुन् ।

कांग्रेसको आफ्नै उम्मेदवार भएकाले कांग्रेसबाट एमालेले सहयोगको आश नराखेको गुरुङले बताएका छन् ।

‘कांग्रेसबाहेकका सबै दलहरूसँग राष्ट्रपतिको निर्वाचनसम्म हामी छलफल र संवाद गर्छौं’, उप–महासचिव गुरुङले भनेका छन् ।
सरकारबारे भने कुनै छलफल नभएको गुरुङले बताएका छन् ।

‘अहिले राष्ट्रपतिको निर्वाचन हुन लागेको हो’, उनले भने, ‘हामीले राष्ट्रपतिको उम्मेदवार तय गरेका छौं ।’

पूर्वसभामुख नेम्वाङ एमालेका उपाध्यक्ष हुन् । नेम्वाङ इलाम–२ बाट निर्वाचित प्रतिनिधि सभाका सांसद हुन् ।

यसअघि शक्रबार रातिको माओवादी केन्द्रसहितको ८ दलीय बैठकले कांग्रेस उम्मेदवारलाई राष्ट्रपतिमा सहयोग गर्ने सहमति जनाएका थिए ।

माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय मोर्चा पार्टीले राष्ट्रपति निर्वाचनमा कांग्रेसलाई समर्थन गर्ने सहमति दिएका छन् ।

Published : Saturday, 2023 February 25, 12:28 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया