नेपाल पुलिस स्कुलले ३९औँ स्थापना दिवस मनायो

काभ्रेपलाञ्चोक । नेपाल पुलिस स्कुल साँगाको ३९औं स्थापना दिवस तथा वार्षिक खेलकुद दिवस सम्पन्न भएको छ ।

नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष कुसुमलता सिंहको प्रमुख आतिथ्यमा शुक्रबार आयोजित कार्यक्रममा अध्यक्ष सिंहले विद्यालयको वार्षिक म्यागजिन ‘दीपिका’ ३२औं अङ्कको लोकार्पण गरेकी छिन् ।

उनले विद्यालयमा स्थापित २३ वटा अक्षयकोषको उद्देश्य अनुरूप विभिन्न विधामा ६४ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेकी छिन् ।

उनले विद्यालयको स्थापना दिवसमा आयोजित विविध अतिरिक्त क्रियाकलापका विजेताहरू, उत्कृष्ट शिक्षकहरू तथा उत्कृष्ट प्रहरी कर्मचारीहरूलाई नगद, शिल्ड, मेडल, पुरस्कार तथा प्रशंसापत्र वितरण गरेकी छिन् ।

उनले विद्यार्थीले निर्माण गरी प्रदर्शनीमा राखेका विभिन्न विज्ञान तथा कला प्रदर्शनीको अवलोकनसमेत गरेकी छिन् ।

अध्यक्ष सिंहले देशभरिका विद्यालय शिक्षाको क्षेत्रमा नेपाल प्रहरी विद्यालयको छुट्टै स्थान र गरिमा रहेको चर्चा गर्दै नेपाल पुलिस स्कुल साँगाले किताबी ज्ञानमा मात्रै सीमित नभई अतिरिक्त क्रियाकलाप र सह–शिक्षात्मक क्रियाकलापहरूलाई नियमित रूपमा संचालन गरी विद्यार्थीको चौतर्फी विकासमा जोड दिँदै आएको बताएकी छिन् ।

प्रतिभावान् र कर्मठ नागरिक उत्पादन गरी मुलुकको विकासमा टेवा पु¥याउन विद्यालयले ठूलो भूमिका खेल्ने उल्लेख गर्दै सिंहले प्रहरी विद्यालयले पनि आफ्नो भूमिकालाई अझ बढी गतिशील र प्रभावकारी बनाउँदै जाने विश्वास व्यक्त गरेकी छिन् ।

नेपाल पुलिस स्कुल साँगाका प्राचार्य मोहन पौडेलले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा विद्यालयका समादेशक प्रहरी नायव उपरीक्षक फणिन्द्र प्रसार्इंले धन्यबाद ज्ञापन गरेका छन् ।

विद्यार्थीले मार्चपास, जुडो, कराते, तेक्वान्दो, जिम्न्यास्टिक तथा विभिन्न साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेका छन् ।

Published : Friday, 2023 February 24, 10:16 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया