मनीषा रावल उत्कृष्ट पाठक पुरस्कारबाट सम्मानित

टीकापुर । टीकापुरमा पठन संस्कृतिको प्रबर्धन गर्न टीकापुर सरोकार समूहद्वारा स्थापित ‘उत्कृष्ट पाठक पुरस्कार’ माघ महिनाको लागि मनीषा रावललाई प्रदान गरिएको छ ।

वीरेन्द्र विद्यामन्दिर क्याम्पस टीकापुरमा अध्ययनरत छात्रा रावललाई माघ महिनाको उत्कृष्ठ पाठकका रुपमा नगद १० हजार रुपियाँसहित पुरस्कृत गरिएको हो ।

आम नागरिकमा पठन संस्कृतिको विकास गर्ने उद्देश्यले टीकापुर सरोकार समूहले टीकापुर सामुदायिक पुस्तकालयको समन्वयमा गत मंसिर महिनादेखि हरेक महिनाका उत्कृष्ठ पाठकलाई पुरस्कार दिँदै आएको छ ।

पुरस्कृत रावलले पुस्तकालयले आफूलाई शान्त वातावरणमा अध्ययन गर्ने अवसर प्रदान गरेको बताउँदै प्राप्त पुरस्कारले लोकसेवाको तयारी गर्न मद्दत पुग्ने बताइन् ।

‘आफूले पढेर ज्ञान पनि पाइने अनि पुरस्कृत पनि हुँदा खुशी लागेको छ’, रावलले भनिन्, ‘घरमा अध्ययन गर्ने वातावरण नभएका कारण म हरेक दिनजसो पुस्कालयमा आएर लोकसेवाको तयारी गरिरहेकी छु ।’

उत्कृष्ठ पाठक रावललाई टीकापुर सामुदायिक पुस्तकालयका पूर्व अध्यक्ष साहित्यकार धनञ्जय तिमिल्सेना, टीकापुर सामुदायिक पुस्तकालयका अध्यक्ष ताराप्रसाद जोशी र टीकापुर सरोकार समूहका कोषाध्यक्ष परमानन्द पाण्डेले पुरस्कार प्रदान गरेका हुन् ।

टीकापुर सरोकार समूहको तर्फबाट माघ महिनाको पुरस्कारको सौजन्य दुबईमा कार्यरत समूहका सदस्य तर्क कुँवर र शेरबहादुर कुँवरले आफ्ना स्वर्गीय पिता गगनसिंह कुँवरको स्मृतिमा गरेका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि समेत रहेका पूर्व अध्यक्ष तिमिल्सेनाले उत्कृष्ठ पुरस्कार दिने कार्यक्रमले आम नागरिकमा अध्ययन गर्नु पर्छ भन्ने भावना विकास हुने बताए ।

‘यसले विद्यार्थी र पाठकहरूलाई पुस्तकालयसम्म आउनका लागि प्रेरणा दिन्छ’, तिमिल्सेनाले भने, ‘यो संस्कार हरेक घर परिवारले आफ्ना बालबालिकालाई सिकाउन जरुरी छ, पुस्तकालयमा थुप्रै पुस्तकहरू छन्, यहाँबाट जीवनोपयोगी ज्ञान प्राप्त हुन्छ ।’

टीकापुर सरोकार समूहका कोषाध्यक्ष परमानन्द पाण्डेले पुस्तकालयमा आएर पढ्ने संस्कृति बढाउन पुस्तकालयले प्रचार प्रसारमा ध्यान दिनुपर्ने बताए ।

Published : Friday, 2023 February 24, 9:55 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया