रुपन्देहीबाट आएको बसमा छापा, काठमाडौंबाट चालक रामचन्द्र पक्राउ

काठमाडौं । काठमाडौं प्रहरीले बसका चालक ४४ वर्षीय रामचन्द्र थारुलाई पक्राउ गरेको छ ।

बिहीबार बिहान ६ः३० बजेको समयमा काठमाडौंबाट चाँदीका गहनासहित पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

रुपन्देहीदेखि काठमाडौंतर्फ आउँदै गरेको बसमा प्रहरीले छापामारेको थियो । पक्राउ परेका थारु रुपन्देहीको तिलोत्तमा नगरपालिका– १६ निवासी हुन् ।

थारुले चलाएको लु.१ख.८६२५ नम्बरको यात्रुवाहक सार्वजनिक बसको चालाकको सिटमुनी दुई वटा प्लाष्टिको डिब्बाभित्र कागज र प्लाष्टिकभित्र राखिएको चाँदी जस्तो देखिएको सेतो धातु प्लाष्टिक कभर डिब्बा र कागजसहित बरामद गरिएको छ ।

१३ किलो ६०० ग्राम रहेकोमा सम्पूर्ण कागज प्लाष्टिक हटाई धातुलाई मात्र तौल गरी हेर्दा ब्रासलेट जस्तो देखिने चिजबस्तु १.२५८ किलोग्राम, ठूलो प्रकारको ब्रासलेट ०.८३० किलोग्राम, सिक्री ४.२८६ किलोग्राम र अर्को किसिमको मसिनो सिक्री ५.३०६ किलोग्राम गरी जम्मा धातु ११ किलो ६८ ग्राम बरामद गरिएको विज्ञप्तिमा उल्लेख छ ।

पक्राउमा परेका थारु उपर थप अनुसन्धान तथा कारवाहीको लागि राजस्व अनुसन्धान विभाग हरिहर भवन, ललितपुर पठाइएको छ ।

Published : Thursday, 2023 February 23, 8:12 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया