मोटरसाइकलको ठक्करबाट ललितपुरमा पैदलयात्रुको मृत्यु

काठमाडौं । ललितपुरमा मोटरसाइकलको ठक्करबाट एक जना पैदल यात्रुको मृत्यु भएको छ ।

ललितपुर महानगरपालिका–१४ ताल्छिखेलमा बा.९१ प ९००० नम्बरको मोटरसाइकको ठक्करबाट पैदलयात्री दोलखाको भीमेश्वर नगरपालिका–७ घर भई हाल ललितपुर महानगरपालिका–४ जावलाखेल बस्ने ५४ वर्षीय दीपक शाहको बुधबार राति मृत्यु भएको प्रहरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

ठक्करबाट गम्भीर घाइते भएका शाहको पाटन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

उता, झापाको शिवसताक्षी नगरपालिका–९ नहरचोकमा प्र १–०१–०१२ प ९११६ नम्बरको मोटरसाइकलले साईकललाई बुधबार राति ठक्कर दिँदा मोटरसाइकल चालक सोही ठाउँ बस्ने २६ वर्षीय नवीन बास्कोटाको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको बी एन्ड सी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका साईकलयात्रीको सोही अस्पतालमा उपचार भइरहेको छ ।

यता, नुवाकोटको बिदुर नगरपालिका–५ माझिटारमा बा.प्र–०२–०२२ प २७७२ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई सडक छेउको कलबोटमा ठोक्किएर बुधबार साँझ दुर्घटना हुँदा मोटरसाइकल चालक सोही नगरपालिका–१० बस्ने २५ वर्षीय विष्णु प्याकुरेलको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल त्रिशुलीमा उपचारको क्रममा मृत्यु भएको हो ।

साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार अन्य १ जनाको नेपाल प्रहरी अस्पताल महाराजगंजमा उपचार भइरहेको छ ।

उता, कालीकोटको तिलागुफा नगरपालिका–५ धनाडामा क.प्र०२–००१ ख ०३५६ नम्बरको मिनी ट्रक सडकबाट करिब ५ सय मिटर तल खसेर दुर्घटना हुँदा ट्रक चालक दैलेख चामुण्डाविन्द्रासैनी नगरपालिका–७ पाल्तडा बस्ने २९ वर्षीय छविप्रसाद चौलागाईंको बुधबार राति मृत्यु भएको छ ।

दुर्घटनामा घाइते भएका उनको कर्णाली स्वास्थ्य विज्ञान प्रतिस्थान जुम्लामा उपचारको क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका ट्रकका सह–चालकको सोही अस्पतालमा उपचार भइरहेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Published : Thursday, 2023 February 23, 7:30 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया