१ नम्बर प्रदेश प्रहरीले पायो नयाँ भवन, दुई निरीक्षकले पाए प्रशंसा पत्र

विराटनगर । १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरको नवनिर्मित कार्यालय भवनको उद्घाटन गरिएको छ ।

विराटनगरमा बिहीबार आयोजित कार्यक्रमबीच नयाँ भवनको उद्घाटन गरिएको हो । भवनको उद्घाटन १ नम्बर प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गरेका हुन् ।

भवन निर्माणमा उल्लेख्य योगदान पु¥याउने निर्माण कम्पनी तथा १ नम्बर प्रदेश प्रहरी कार्यालयमा कार्यरत प्रहरी निरीक्षक ढुण्डीराज गिरी र महेश भट्टराईलाई प्रशंसापत्र प्रदान गरिएको छ ।

नेपाल प्रहरीका प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले शान्ति सुरक्षा सबैको साझा जिम्मेवारी रहेको बताएका छन् ।

सिंहले प्रदेश सरकारबाट प्रदेश प्रहरीलाई प्राप्त नयाँ भवनसँगै कार्यरत प्रहरी कर्मचारीहरूमा थप मनोवल उच्च भएको बताएका छन् ।

प्रदेश प्रहरी कार्यालयबाट आम नागरिकमा प्रदान हुने सेवा समेत समयानुसार स्तरीय हुँदै जाने आईजीपी सिंहले बताएका छन् ।

प्रहरी महानिरीक्षक सिंहले सुन्दर भवनमा बस्ने प्रहरी कर्मचारहरूले जनमैत्री प्रहरी सेवा प्रदान गर्नेमा आफू विश्वस्त रहेको बताएका छन् ।

सिंहले कानूनको परिधिमा रहि जनचाहना बमोजिमको प्रहरी सेवा प्रदान गर्न प्रहरी कर्मचारीहरूलाई निर्देशन दिएका छन् ।

१ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख प्रहरी नायव महानिरीक्षक श्यामलाल ज्ञवालीले सुबिधा सम्पन्न भवन प्राप्त भएसँगै थप मनोवल बढ्ने बताएका छन् ।

ज्ञवालीले कार्यक्षेत्रमा अनुकूल वातावरण सिर्जना हुने भएकोले थप जोश र उर्जाका साथ प्रहरीलाई काम कारवाही गर्न प्रेरणा मिलेको बताएका छन् ।

प्रहरी उपरीक्षक अनिल रानाले भवन निर्माणसम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै १ नम्बर प्रदेश आन्तारिक मामिला तथा कानून मन्त्रालयबाट वजेट विनियोजित भई कुल १९ करोड १४ लाख १ हजार ६ सय ६३ रुपियाँको लागतमा ७५ वटा कोठा भएको ५ तले कार्यालय भवन निर्माण कार्य सम्पन्न भएको जानकारी दिएका छन् ।

उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश सत्यमोहन जोशी थारु लगायतको उपस्थिति रहेको थियो ।

Published : Thursday, 2023 February 23, 6:52 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया