डीआईजी काण्डमा प्रहरी हवल्दारलाई कारबाही

काठमाडौं । गोप्य सूचना चुहाएको भन्दै नेपाल प्रहरीको मुख्यालयले प्रहरी हवल्दारलाई कारबाही गरेको छ ।

प्रहरी मुख्यालय निकट उच्च स्रोतका अनुसार प्रहरीका उच्च अधिकारीको गोप्य सूचना चुहाएको अभियोगमा कर्मचारी प्रशासनका प्रहरी हवल्दार दीपक विष्टलाई कारबाही गरिएको हो । विष्टलाई कर्मचारी प्रशासन शाखाबाट हटाइएको छ । उनलाई १ नम्बर प्रहरी गणमा काज सरुवा गरिएको छ ।

प्रहरी हवल्दार विष्टले गोप्य दस्तावेजहरू भाईबरमार्फत पठाएको अनुसन्धानका क्रममा देखिएका स्रोतको भनाइ छ ।

प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहको जन्ममिति विवाद सार्वजनिक भएका बेला प्रहरी महानिरीक्षक (आईजीपी) धिरजप्रताप सिंहसहित अरु अधिकृतहरूको पनि जन्ममिति सिट रोलको विवरण सार्वजनिक भएको थियो ।

गोप्य रहनुपर्ने सिट रोलको विवरण सार्वजनिक भएपछि प्रहरीले आन्तरिक छानबिन गरेको थियो ।

विष्ट २०६९ सालदेखि कर्मचारी प्रशासन शाखामा कार्यरत थिए ।

Published : Thursday, 2023 February 23, 4:02 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया