ललितपुरमा दुई मोटरसाईकल एकआपसमा ठोक्किए, एक जनाको मृत्यु

काठमाडौं । ललितपुरमा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

बुधबार ललितपुर महानगरपालिका–१३ कुसुन्तिस्थित सडकमा बा.८७ प ५९०१ र बागमती प्रदेश ०२–००२ प ९३७६ नम्बरका मोटरटसाईकल एकआपसमा ठक्कर खाई दुर्घटना भएको प्रहरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

बा.प्र.०२–००२ प ९३७६ नम्बरको मोटरसाइकल चालक धनुषाको लक्ष्मीमिया घर भई ललितपुर महानगरपालिका–१७ ग्वार्को बस्ने २१ वर्षीय शिवम् यादवको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको बीएण्डबी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका बा.८७ प ५९०१ नम्बरको मोटरसाईकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

सोही मोटरसाईकलका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

उता, रौतहटको परौहा नगरपालिका–६ कल्भर्ट पुल नजिक सडकमा हाल नम्बर नखुलेको सवारी साधनको ठक्करबाट हाल नाम, थर, वतन नखुलेका करिब ६० वर्षीय पुरूषको बुधबार मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल गौरमा उपचारको क्रममा मुत्यु भएको हो ।

हाल फरार ठक्कर दिने सवारी साधनको प्रहरीले खोजी गरिरहेको छ ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

Published : Wednesday, 2023 February 22, 8:38 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया